नेपाल र अष्ट्रेलिया (Australia) बीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भई सहयोगको आदान प्रदान भई आएता पनि आर्थिक सम्बन्ध र सहयोगलाई अझ विस्तारका साथै प्रभावकारी बनाउन व्यापार सन्धि (Trade Agreement) लगायतका आर्थिक सहयोग सम्बन्धी सम्झौता गरी अघि बढ्नु पर्ने र दुई देश बीच सिधा हवाइ सर्म्पर्क कायम हुनु पर्नेमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्रेम लेड (Graeme Lade) बीच आज महासंघको सचिवालयमा भएको बैठकमा अध्यक्ष ढकालले सो कुरामा जोड दिनु भएको हो ।
अष्ट्रेलियाबाट नेपाललाई विकास सहयोग कार्यक्रम अर्न्तर्गत वन, पशु विकास, मानव संसाधन विकासका साथै आर्थिक सहयोग प्राप्त भई आएता पनि द्विपक्षीय व्यापार एवं अन्य आर्थिक सम्बन्ध विस्तार तथा जलश्रोत, कृषि, पर्यटन, साना तथा मझौला उद्यम, शिक्षा, स्वास्थ्य, हवाई उड््डयन, वातावरण, प्रशासनिक तथा व्यवस्थापन क्षेत्रमा समेत अष्ट्रेलियाली सहयोग एवं सहभागिता महत्वपूर्ण हुने भएकोले यसका लागि द्विपक्षीय पहल हुनु पर्ने पनि उक्त बैठकमा जोड दिइयो ।
महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छा, औद्योगिक प्रबर्द्धन समितिका सभापति प्रदीपजंग पाण्डे, अन्तर्राष्ट्रिय सम्पर्क फोरमका सभापति बिजय कुमार दुगड, सामाजिक सेवा समितिका सहसभापति गुणनीधि तिवारी, का.मु. महानिर्देशक मेघनाथ न्यौपाने र वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डे समेतको सहभागिता रहेको उक्त बैठकमा नेपालको पुननिर्माणका साथै आर्थिक सामाजिक विकासका क्षेत्रमा समेत अष्ट्रेलियाली सहयोग प्रभावकारी हुने धारणा व्यक्त गरियो ।
अष्ट्रेलियाली पक्षबाट भारतको नयां दिल्ली स्थित अष्ट्रेलियन व्यापार युक्त (Australian Trade Commission) कार्यालयका दक्षिण एशियाली वरिष्ठ व्यापार आयुक्त मिखायल मोइगनार्ड (Michael Moignard) र व्यापार विकास व्यवस्थापक हरि मोहन पुरीको समेत उपस्थिति रहेको उक्त बैठकमा अष्ट्रेलियाली राजदूत ग्रेम लेडले शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, वातावरण तथा निर्माणको क्षेत्रमा सहकार्य गर्न अष्ट्रेलिया इच्छुक रहेको अवगत गराउनु भयो ।
उक्त बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका लागि सरकारी तथा निजी क्षेत्रबाट पहल गरिनुका साथै आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिइयो ।
व्यापार लगानी तथा पर्यटन सम्बन्धी स्थितिलाई हेर्दा आ.व. २०६२/६३ मा नेपालबाट अष्ट्रेलिया तर्फ१५ करोड ४० लाख ७२ हजार रुपैयांको समान निर्यात नभएकोमा १ अर्ब ४१ करोड ५३ लाख ३९ हजार बराबरको सामान आयात भएको थियो ।
सो निर्यात नेपालको कूल निर्यातको ०.२५ प्रतिशत र सो आयात कूल आयातको ०.८१ प्रतिशत हुन आउंदछ ।
पर्यटक आगमन तर्फ सन् २००६ मा अष्ट्रेलियाबाट ८,२३१ (कूल पर्यटक आगमनको १.९ प्रतिशत) र सन् २००७ मा १,४२९ (कूल पर्यटक आगमनको ०.५ प्रतिशत) अष्ट्रेलियाली पर्यटक नेपाल आएका थिए ।
त्यस्तै अष्ट्रेलियाली संयुक्त लगानीमा नेपालमा पर्यटन, शिक्षा र तालिम तथा हेलिकोप्टर सेवा गरी चारवटा परियोजना संचालित छन् भने ग्यास वर्कशप र कफि रोपण समेत दुई वटाले इजाजत तथा होटल, जलविद्युत उत्पादन, कम्प्युटर र भाषा तालिम समेत चार वटा परियोजनाले स्वीकृति प्राप्त गरेका छन् ।