बैतडी उद्योग वाणिज्य संघको बैतडीको गोठालापानीमा सम्पन्न सातौं वाषिर्क साधारण सभाले त्यहां उत्पादित कृषिजन्य बस्तुको निकासीमा देखिएका समस्या समाधान गर्नु पर्ने, घरेलु तथा साना उद्योगको विकासका लागि सरल कर्जा र प्रविधि उपलव्ध हुनु पर्ने, स्थानीय सडक एवं पुल निर्माणलाई शीघ्रता दिनु पर्ने, पेय पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्नु पर्ने र बैतडी जस्ता दुर्गम जिल्लाको आर्थिक सामाजिक विकासका लागि प्याकेज कार्यक्रम सहित गम्भिरतापूर्वक कार्यान्वयन गर्नु पर्नेमा जोड दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले उक्त सभाको हालै उद्घाटन गर्नु हुंदै जिल्लाको आर्थिक सामाजिक विकास तथा गरिवी निवारणमा सघाउ पुर्याउने उद्देश्यले महासंघले "एक गाउं एक उत्पादन", इलम प्रशिक्षण केन्द्र, घरेलु तथा लघु उद्यम विकास, महिला उद्यमी विकास जस्ता कार्यक्रमहरुलाई अघि बढाइएको उल्लेख गर्नु हुंदै कृषिजन्य बस्तु भारत निकासीलाई सहज बनाउन क्वारेन्टाइन चेकपोष्ट सीमा क्षेत्रमै स्थापना, भन्सारमा देखिएका समस्या समाधान र पेय पदार्थ बिक्री वितरणमा देखिएका समस्या सहमतिको आधारमा समाधान गर्न पहल गर्नुका साथै स्थानीय उत्पादनको विकास विस्तार एवं बजार व्यवस्थाका लागि कृषि उद्यम केन्द्र मार्फत कार्य गर्दै आएको उल्लेख गर्नु भयो ।
साथै उहांले सद्वाज-दुलाघाट तथा गोकुलेश्वर-दार्चुला सडक निर्माण छिट्टै गर्न तथा जिल्लाको आवश्यकता अनुसार आर्थिक क्रियाकलाप विस्तारका कार्यक्रमहरु ल्याउन महासंघबाट पहल भई रहेको उल्लेख गर्नु हुंदै स्थानीय आर्थिक सामाजिक विकासका कार्यक्रमहरु र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप कार्यान्वयन गर्नका लागि समेत जिल्लाका उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले जिल्लाको सम्भाव्य उद्योग व्यवसाय एवं शीप र साधनको पहिचान गरी महासंघमा पर्ठाईएमा विकासका लागि सघाउन सहज हुने जानकारी दिनु हुंदै सदस्य संघहरुको संस्थागत विकास एवं सुदृढिकरणका साथै आर्थिक क्रियाकलाप विस्तारमा महासंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अन्तरिम व्यवस्थापिका संसदका सदस्य उर्वादत्त पन्त, महासंघका समिति सभापतिद्वय लोक विक्रम थापा र कृष्ण प्रसाद ताम्राकार, महाकाली अञ्चल प्रतिनिधि माधव प्रसाद भट्ट तथा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले समेत सो अवसरमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष नरबहादुर चन्दको सभापतित्वमा आयोजित उक्त समारोहमा सेती र महाकाली अञ्चल भित्रका उद्योग वाणिज्य संघका अध्यक्ष्ँ तथा वर्तमान एवं पर्ूव पदाधिकारीहरुको उपस्थिति थियो ।