नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष एवं नारायणी अञ्चल प्रतिनिधि कुशकुमार जोशीले कलैया नगरपालिका वडा नं. २ मा नयाँ निर्माण हुने इलम प्रशिक्षण केन्द्र भवनको हिजो एक समारोहका बीच शिलान्यास गर्नु भयो ।
उक्त समारोहलाई सम्बोधन गर्नु हुंदै प्रमुख अतिथि जोशीले महासंघको प्राथमिकतामा परेको योजनामा इलम प्रशिक्षण केन्द्र समेत रहेको र हालसम्ममा देशमा विभिन्न भागमा गरी आठवटा केन्द्र सञ्चालनमा रहेको तथा यसलाई देशव्यापि बनाउंदै लाने लक्ष्य रहेको बताउनु भयो ।
साथै उहांले इलम प्रशिक्षण केन्द्रले साना तथा लघु उद्यम विकास, रोजगारी सृजना तथा आर्थिक क्रियाकलाप बृद्धिका साथै गरिवी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नु भयो ।
उहांले महासंघले मानव संसाधन विकासको माध्यमबाट समेत देशको आर्थिक सामाजिक विकासमा सघाउ पुर्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र यसबाट सदस्य संघ/संस्थाका साथै उद्योग व्यवसाय लाभान्वित हुने बताउनु भयो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक श्रेष्ठ लगायत सदस्यहरुको समेत उपस्थितिमा आयोजित उक्त कार्यक्रममा बारा उद्योग वाणिज्य संघ एवं इलम प्रशिक्षण केन्द्र, बाराका अध्यक्ष शिवनाथ शर्माले केन्द्रको वारेमा प्रकाश पार्नु हुंदै उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने श्री मुक्तेश्वरनाथ महादेव सञ्चालक समितिलाई जग्गा उपलव्ध गर्राई दिए वापत एवं अक्ष्ँय कोषमा आर्थिक सहयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ, जिल्ला विकास समिति बारा, कलैया नगरपालिका तथा बीरगञ्ज उद्योग वाणिज्य संघ प्रति आभार व्यक्त गर्नु भयो ।
उक्त समारोहमा विभिन्न राजनीतिक पार्टिका जिल्ला प्रतिनिधिहरु तथा महिला वर्गको समेत उपस्थिति थियो ।