नेपाल चेम्वर अफ कमर्सका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्यमी व्यवसायी महेशकुमार अग्रवाल माथि राजधानीको प्रमुख व्यापारिक स्थल खिचापोखरीमा आपराधिक तत्वहरुले पौष १८ गते सांझ सांघातिक आक्रमणको प्रयास गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ र महासंघ यस्ता आपराधिक कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ ।
राजधानी लगायत अधिराज्यका विभिन्न भागबाट निरन्तर रुपमा उद्योगी व्यवसायीको अपहरण तथा उनीहरुमाथि आक्रमण भई रहेकाले यस्ता अपराधिक क्रियाकलापमा संलग्न हुनेहरुको तत्काल खोजि गरी सख्त कारवाही गर्न महासंघले नेपाल सरकार समक्ष बारम्बार आग्रह गर्दा पनि सो तर्फखासै प्रयास नहुंदा उद्योगी व्यवसायी वर्ग थप चिन्तित भएका छन् ।
मुलुकको अर्थतन्त्रका महत्वपूर्ण पक्ष उद्योगी व्यवसायी र यस क्षेत्र माथि हुने यस प्रकारको असुरक्षाको तत्कालै अन्त गरी शान्ति सुरक्षाको प्रत्याभूति दिने कार्यमा सक्रियतापूर्वक लाग्न समेत महासंघ नेपाल सरकारसंग जोडदार माग गर्दछ ।