निरन्तर रुपमा आक्रमण, अपहरण, चन्दा आतंक तथा डकैती जस्ता आपराधिक घटनाबाट उद्योगी व्यवसायी एवं उद्योग व्यवसाय क्षेत्र नराम्ररी प्रभावित भएकाले यस्ता गतिविधिहरु तत्काल रोक्न निजी क्षेत्रले जोड दिएको छ । कंचनपुर उद्योग वाणिज्य संघको २० औं वार्षिक साधारण सभाको हिजो महेन्द्रनगरमा आयोजित कार्यक्रमका सहभागी अधिकांस उद्योगी व्यवसायीहरुले मुलुकबाट तत्काल आपराधिक गतिविधि नरोकिए तथा उद्योगी व्यवसायी माथि वारम्वार आक्रमण भैरहे निजी क्षेत्र वाध्य भएर आन्दोलनमा जानु वाहेक अर्को विकल्प नरहेको पनि उहांहरुले बताउनु भयो ।
अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यवसाय क्षेत्रले निर्भयका साथ काम गर्न पाए मात्र मुलुकलाई सवै प्रकारका संकटबाट वचाउन सकिने हुंदा यस तर्फराजनीतिक दलहरुको गम्भीर ध्यान जानुपर्ने माग उद्योगी व्यवसायीहरुको थियो । उद्योगधन्दाको विकास तर्फराजनीतिक दलहरुको सामूहिक प्रतिवद्धता आउनुपर्नेमा जोडदिंदै आर्थिक विकासमा साझा सहमतिका साथ अघि नबढ्ने हो भने अर्थतन्त्र गम्भीर दूर्घटनामा पर्ने चेतावनी पनि त्यस अवसरमा दिइएको थियो । यसका लागि संविधान सभाको निर्वाचन निर्धारित मितिमै सम्पन्न गरी मुलुकलाई स्थायी रुपमा निकास दिन पनि उनीहरुले आग्रह गरेका थिए ।
सो सभाको उदघाटन गर्नुहुंदै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले नयां परिस्थितिमा उद्योग व्यवसाय गर्ने वातावरण बन्ला भनेर ढुक्क भएको निजी क्षेत्र हालैका दिनहरुमा अझ बढी आक्रमणको निशाना बनेको र सुरक्षाको प्रत्याभुति दिन सरकारलाई वारम्वार आग्रह गर्दा पनि सहयोग नपाएको बताउनु भयो । वर्तमान अन्यौलताबाट थप निराशा पैदा भएको, लगानी गर्ने अवसर नहुंदा रोजगारीका अवसरहरु सांघुरिएकाले युवाहरुमा विदेश पलायनको क्रम तिब्र भएकोमा पनि अध्यक्ष ढकालले चिन्ता प्रकट गर्नु भयो ।
आजपनि उद्योग व्यवसाय माथि भएका वारम्वारको आक्रमण, अपहरण, चन्दा आतंक, उद्योग व्यवसाय संचालनका लागि अत्यावश्यक विद्युतको लोड सेडिङ जस्ता समस्याले उद्योग व्यवसाय थला परेकोले अव यसमा सुधार गर्ने तर्फसरकार तथा राजनीतिक दलहरुले ध्यान नदिने हो भने कुनै पनि वेला मुलुकमा आर्थिक संकट पैदा हुने दावी अध्यक्ष ढकालले गर्नुभयो ।
उहांले स्थानीय उद्योग वाणिज्य संघहरुलाई स्थानीय सम्भाव्यताको खोजी गरी स्थानीय स्रोत, साधन र जनशक्तिमा आधारित उद्योग व्यवसायको पहिचान गर्न आग्रह गर्दै महासंघले अघि बढाएका सबै कार्यक्रमहरु मार्फ सदस्य संघहरुलाई सशक्त पार्दै लगिने योजना रहेको विश्वास समेत दिलाउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि एवं महासंघका पर्ूव अध्यक्ष आनन्दराज मुल्मी र द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले आर्थिक विकास विना राज्यमा स्थायीत्व आउन नसक्ने बताउंदै उद्योग व्यवसायको विकासमा राज्यले अवलम्वन गर्ने नीति नियमदेखि राजनीतिक प्रतिवद्धताको खांचो औल्याउनु भयो । उहांहरुले यसका लागि निजी क्षेत्रलाई भयरहित वातावरणमा उद्योग व्यवसाय गर्ने अवसर दिन आग्रह पनि गर्नुभयो ।
महासंघको कार्यकारिणी समितिका सदस्यहरु लोक विक्रम थापा, कृष्णप्रसाद ताम्राकार, चन्द्रकृष्ण कर्माचार्य, ज्ञानेन्द्र कसजु, माधवप्रसाद भट्ट, चोपनारायण श्रेष्ठ र भवानी राणाले शुभकामना मन्तव्यका क्रममा मुलुकले लोकतान्त्रिक अभ्यास गरीरहेपनि उद्योग व्यवसाय क्षेत्र भने कुनै न कुनै रुपमा पिडीत भैरहेको बताउनु भयो । उहांहरुले सरकारसंग शान्ति सुरक्षाको प्रत्याभुति दिन आग्रह समेत गर्नुभयो ।
त्यसैगरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरु मुगुका नरथी रावत, धादिङका ध्रुवबहादुर थापा, सिर्द्धार्थनगरका कृष्णप्रसाद शर्मा, वैतडीका नरबहादुर चन्द, पर्वतका मिनप्रसाद श्रेष्ठ, नवलपरासीका विरेन्द्र कुमार अग्रहरी, इटहरीका टंकप्रसाद दुलाल र नुवाकोटका शरण उत्सुकले जिल्लामा अनेकन समस्याबाट व्यवसायीहरु रातोदिन पिडीत हुन परेको बताउनु भयो ।
संघका अध्यक्ष हेमराज पाण्डेयको सभापत्विमा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्व सांसद रामकुमार ज्ञवाली, गंगादत्त जोशी, राजनीतिक पार्टी स्थानीय नेताहरु, संघका पूर्व अध्यक्ष किशनलाल नाहटा, निवर्तमान अध्यक्ष शिवराज पाण्डेय, शुक्लाफांटा एफएमका अध्यक्ष ऋषिराज लुम्साली तथा साधारण सदस्यका तर्फबाट लोकबहादुर ठकूराठीले शुभकामना मन्तव्य दिनु भएको थियो ।
संघका महासचिव कृष्णप्रसाद पाठकले संचालन गर्नु भएको उक्त कार्यक्रम पश्चात संघको वाषिर्क प्रतिवेदन आ.व ०६३/०६४ को आयव्यय तथा आ.व २०६४/०६५ को अनुमानित आय व्यय तथा सुदुरपश्चिमाञ्चल क्षेत्रको विकास सम्बन्धमा विविध निर्णय पारित गरिएको थियो ।