उद्योग व्यवसाय क्षेत्रमा बढ्दो असुरक्षा नरोकिए निजी क्षेत्र अत्यन्त कडा आन्दोलनमा उत्रन वाध्यहुने चेतावनी उद्यमी व्यवसायीहरुले दिएका छन् । उद्योगी व्यवसायी र उद्योग व्यवसाय माथि निरन्तर रुपमा भैरहेको आक्रमण, अपहरण, चन्दा आतंक तथा चोरी डकैती जस्ता आपराधिक क्रियाकलापहरु तत्काल रोकी उद्योग व्यवसाय गर्ने वातावरण बनाउनका लागि सरकार तथा राजनीतिक दलहरुसंग वारम्वार आग्रह गर्दा पनि त्यसको सुनुवाई नभएपछि बाध्य भएर निजी क्षेत्र आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको जलेश्वर उद्योग वाणिज्य संघको हालै महोत्तरीमा सम्पन्न छैठौ वाषिर्क साधारण सभामा उद्यमी व्यवसायीहरुले बताए ।
उद्योगी व्यवसायीहरुले मुलुकबाट तत्काल अपराधिक गतिविधि नरोकिए तथा उद्योगी व्यवसायी माथि वारम्वार आक्रमण भैरहे निजी क्षेत्र वाध्य भएर आन्दोलनमा जाने र सरकारलाई कर/राजश्व तिर्न नसक्ने स्थिति आउने पनि सो अवसरमा उद्यमी व्यवसायीहरुले बताए ।
सो सभाको उदघाटन गर्नुहुंदै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले सुरक्षाको प्रत्याभुति दिन सरकारलाई वारम्वार आग्रह गर्दा पनि सो अझै हुन नसकेको र दैनिक जसो उद्यमी व्यवसायीहरु माथि सताइने काम भैरहेकोले यस्ता क्रियाकलाप तुरुन्त वन्द गरी शान्ति सुरक्षाको प्रत्याभुति सहित औद्योगिक व्यवसायिक समस्या समाधान गर्न सरकारसंग माग गर्नुभयो । उहाँले अवपनि निजी क्षेत्रका पिडाहरु नसुनिए वाध्यभएर आन्दोलनमा जानु बाहेक अरु विकल्प नरहेको पनि बताउनु भयो ।
एकातिर असुरक्षा र अर्कोतिर दैनिक ६/६ घण्टाको विद्युत लोड सेडिङबाट उद्योग व्यवसाय उठनै नसक्ने गरी थला परेकोले अव यसमा सुधार गर्ने तर्फसरकार तथा राजनीतिक दलहरुले ध्यान नदिने हो भने कुनै पनि वेला मुलुकमा आर्थिक संकट पैदा हुने चेतावनी पनि अध्यक्ष ढकालले दिनु भयो ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले आर्थिक विकास विना राज्यमा स्थायित्व आउन नसक्ने बताउंदै उद्योग व्यवसायको विकासमा राज्यले अवलम्वन गर्ने नीति नियमदेखि राजनीतिक प्रतिवद्धताको खांचो औल्याउनु भयो । उहांले निजी क्षेत्रका समस्या समाधानमा सरकार कानमा तेल हालेर वसेको गुनासो पनि गर्नुभयो ।
कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु डी.वी. वस्नेत, लोकविक्रम थापा, कृष्णप्रसाद ताम्राकार, चन्द्रकृष्ण कर्माचार्य र चोपनारायण श्रेष्ठले शुभकामना मन्तव्यका क्रममा स्थानीय उत्पादन आलु, मखन, आंप र माछा जस्ता वस्तुहरुलाई महासंघको पहलमा बाजार व्यवस्थापन गरिने विश्वास दिलाउनु भयो । उहांहरुले अहिले व्यवसायीहरु अनेकन नामबाट सताइने गरेकाले उद्योग व्यवसाय गर्ने वातावरण निकै विग्रिएको वताउनु भयो ।
सभापतिको आशनबाट संघका अध्यक्ष रामकपुर साहले जिल्लाको औद्योगिक व्यवसायिक लगायतका आर्थिक क्रियाकलापको विकास विस्तारमा संघले गरेका कार्यक्रमहरु वारे स्पष्ट पार्दै हालैका दिनमा तर्राईमा शान्ति सुरक्षामा देखिएको कमजोर अवस्थालाई तत्काल सुधार गरी व्यवसायिक वातावरण बनाउन आग्रह गर्नुभयो ।