नेपाल उद्योग वाणिज्य महासंघको सदस्य उद्योग वाणिज्य संघ बुटवलको आयोजना र लुम्बिनी अंचलका जिल्ला उद्योग वाणिज्य संघहरुको सह-आयोजनामा बुटवलमा संचालित कृषि मेला-२०६४ भव्यतापूर्वक आयोजना भइरहेको छ । मेला अवलोकन गर्न आउनेहरुको चाप निकै बढेको छ । शुक्रवारदेखि आयोजित उक्त मेलामा कृषि र यसंसग सम्बन्धी प्रविधि, उत्पादन तथा सेवा प्रदर्शित गरिएको छ ।
उक्त मेलाको एक समारोह बीच उद्घाटन गर्नुहुंदै कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले कृषि क्षेत्रको विकासका लागि कृषि, भुमिसुधार, वनलगायत कृषिसंग सम्बद्ध सबै क्षेत्रलाई एकीकृत ढंगले अघि बढाउनुपर्नेमा जोड दिनु भयो । मन्त्री विश्वकर्माले राजनीतिक परिवर्तनलाई र्सार्थक बनाउन कृषि र सहकारी क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने बताउनु भयो ।
कृषि क्षेत्रको उत्पादन, प्रविधि लगायतका कुराको जानकारी सहित कृषिको व्यवसायीकरण गर्न मेला महोत्सव फलदायी हुने पनि उहांले बताउनु भयो । कृषि र सहकारीको क्षेत्रबाट जनतालाई परिवर्तनको प्रत्याभुति दिलाउन निजी क्षेत्रसंग सहकार्य गरी आगामी आवमा जनमुखी कायक्रम संचालन गर्ने गृहकार्य भैरहेको पनि उहांले जानकारी गराउनु भयो ।
सांसदद्वय सूर्य प्रसाद प्रधान र विनोद उपाध्यायले राजनीतिक संरचना र कृषिको आधुनिकीकरणसंगै आर्थिक विकासलाईसंगै अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले नेपाल अहिले अभाव, असुरक्षा र अनिर्णयको मुलुक हुन खोजेकोले राजनीतिक दलहरु स्पष्ट हुनुपर्ने बताउंदै लोडसेडिङका कारण उद्योगहरु अहिले ६० प्रतिशतभन्दा कम क्षमतामा संचालल भैरहेको बताउनु भयो । उहांले भूस्वामित्व खण्डीकरण हुंदै गएकाले उत्पादनमा ह्रास आइरहेको भन्दै कृषिमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । साथै महासंघले कृषिको व्यवासायीकरणमा विशेष जोड दिंदै आएको बताउंदै कृषि उद्यम केन्द्रको नेतृत्वमा महासंघले एक गाउँ एक उत्पादन जस्ता महत्वपूर्ण कार्यक्रम संचालन गरिरहेको पनि जानकारी गराउनु भयो ।
सभापतिको आशनबाट संघका अध्यक्ष नवराज श्रेष्ठले बुटवललाई क्षेत्रीय कृषि बजारका रुपमा स्थापित गर्न र कृषिको व्यवसायीकरणका लागि संघले दोस्रोपटक संघ परिसरमा कृषि मेला आयोजना गरेको जानकारी गराउनु भयो ।
उद्घाटन कार्यक्रममा सात राजनीतिक दलका स्थानीय नेताहरु, संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, सिद्धार्थनगर उवासंघका अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका उपाध्यक्ष खिमबहादुर हमाल र शंकर श्रेष्ठ, महासचिव रोहितराज क्षेत्री लगायतका वक्ताहरुले लोडसेडिङले उद्योगमा पारेको असर, कृषिको महत्व र कृषिको व्यवसायीकरका सम्बन्धमा आ-आफना धारणाहरु राख्नुभएको थियो ।
मेलामा रुपन्देही, कपिलवस्तु, चितवन, दाङ पोखरा र काठमाडौंका कृषक समूह, उद्योग प्रतिष्ठान, प्रविधि सरकारी तथा गैरसरकारी संघ संस्थाका गरी ४५ वटा स्टलहरु मार्फ कृषिको प्रदर्शनी गरिएको छ ।