नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले पाल्पाको पर्यटन महोत्सव समष्टीगत रुपमा स्थानीयबासीको भेषभुषा, उत्पादन, कला र संस्कृतिको जगेर्ना गर्न आयोजना गरिएको बताउनु भएको छ । उहाले पाल्पाको यो मेला पर्यटनको आयाम थप्ने र पाल्पा जिल्लाको विकास गर्न आर्थिक क्षेत्रलाई प्रवर्द्धन गर्न र थुप्रै चिजहरुलाई पहिचान गर्न सफल हुने बताउनु भएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको आज पाल्पामा उद्घाटन गर्नुहुंदै अध्यक्ष ढकालले पाल्पामा थुप्रै संभावनाहरु रहेकाले यस सम्बन्धी बस्तु स्थितीलाई प्रचारप्रसारमा ल्याउन संचारकर्मीले जोडदिनुपर्ने बताउनु भयो । साथै उहांले उद्योग र कृषिलाई व्यवस्थित र सुचारु रुपमा संचालन गर्नुपर्नेमा समेत जोड दिनु भयो ।
महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, कृषि उद्यम केन्द्रका सभापति कृष्ण प्रसाद ताम्राकार, कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्द्र कसजु, चोपनारायण श्रेष्ठ र लुम्विनी अंचल प्रतिनिधि गुणनिधि तिवारी तथा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष विरेन्द्र अग्रहरी, सिर्द्धार्थनगर उवासंघका अध्यक्ष कृष्णप्रसाद शर्मा, उवासंघका अध्यक्ष नवराज श्रेष्ठ लगायत विभिन्न जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विधायकहरु भद्रबहादुर थापा, सोमप्रसाद पाण्डे, यादवबहादुर रायमाझी, रुपा विक, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, निमित्त प्रमुख जिल्ला अधिकारी गंगासागर ढकाल, स्थानीय विकास अधिकारी बद्रीनाथ घिमिरे, पाल्पा उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु चकोरमान शाक्य, पशुपति भटर्राई, हरि रायमाझी, तानसेन गुठीका अध्यक्ष करुणागोविन्द श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष भगवान भण्डारी लगायतले मेलाको सफलताको लागी शुभकामना व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष भुषण राजलवटको सभापतित्वमा भएको उक्त कार्यक्रममा मेला संयोजक मधुदयाल सैजु, वाणिज्य उपाध्यक्ष राजु महर्जन र महासचिव भिमसेन कार्कीले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । मेलामा १ सय ५० स्टल मार्फ औद्योगिक उत्पादन, कृषि, पर्यटन संग सम्बन्धीत वस्तु तथा सेवाहरुको प्रदर्शनी लगायत पाल्पाका स्थानीय झाकी, मगरी समुदायका नृत्य, बाहुनको वालन लगायतका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका छन् ।