नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग महासंघ (CII) बीच गठित नेपाल-भारत संयुक्त आर्थिक परिषद (FNCCI-CII Joint Economic Council - JEC) को मंगलवार नयाँ दिल्लीमा सम्पन्न बैठकमा द्विपक्षीय व्यापार, लगानी, कृषि, रेल्वे सेवा विस्तार, जलविद्युत तथा विशेष आर्थिक क्षेत्र निर्माण लगायतका विषयमा भारतीय पक्षबाट सहयोग गर्ने विश्वास दिलाइएको छ ।
द्विपक्षीय व्यापारका क्रममा आइपरेका समस्या समाधान गरी व्यापार घाटा कम गर्न, नेपालमा भारतीय लगानी विस्तार गर्न, भारतीय पर्यटकको नेपाल आगमन बढाउन, जलविद्युत, कृषि तथा नेपाली सिमासम्म भारतीय रेल्वे सेवा विस्तार लगायतका विषयलाई महासंघका तर्फबाट प्राथमिकताका साथ बैठकमा राखेपछि भारतीय पक्षबाट उक्त विषयलाई सकारात्मक रुपमा लिई सहयोग गर्ने विश्वास दिइयो ।
बैठकमा महासंघका तर्फबाट प्रथम उपाध्यक्ष एवं संयुक्त आर्थिक परिषद्का संयोजक दिवाकर गोल्छा र सीआइआइका तर्फबाट सुवोध भार्गव (Subodh Bhargav) ले नेतृत्व गर्नुभएको थियो । बैठकमा सीआइआइका तर्फबाट विशेष आर्थिक क्षेत्र (Special Economic Zone - SEZ) निर्माणमा नेपालसंग मिलेर लगानी गर्न प्रस्ताव राखेपछि महासंघको तर्फबाट सेज निर्माणका लागि छिट्टै आवश्यक कदम चालिने धारणा राखिएको थियो ।
वृहत्तर आर्थिक साझेदारी (Comprehensive Economic Partnership) लाई नेपालको तर्फबाट महत्वका साथ बैठकमा राखिएपछि सो विषयमा छलफल हुंदा दुवै पक्षबाट अध्ययन गरी अर्को बैठकमा त्यसको प्रतिवेदन पेश गरी सोही अनुसार अघि बढ्ने सहमति पनि भएको छ । सोही बैठकका शीलशिलामा महासंघको प्रतिनिधिमण्डलले भारतीय वाणिज्य मन्त्रालयका सहसचिव राजिव खेर (Rajiv Kher, Joint Secretary, Ministry of Commerce) र रेल्वे वोर्डका कार्यकारि निर्देशक एस. के. दास (SK Das, Executive Director, Railway Board) संग छुट्टाछुट्टै भेट गरी ४ प्रतिशत अतिरिक्त भंसार महशुल लगायत द्विपक्षीय व्यापारमा देखा परेका समस्या समाधान र नेपालसम्म व्रोडगेज रेल सेवा विस्तारको सम्भावना तथा हाल नेपाली व्यवसायीहरुले कार्गो आवागमनमा भोगीरहेका समस्या वारे बिचार गर्न आग्रह गरेको गर्ΕΎयो ।
उक्त बैठकमा महासंघको तर्फबाट महासंघको सार्क व्यापार तथा विमेस्टेक समितिका सभापति कुमुदकुमार दुगड, यातायात तथा पारवहन समितिका सल्लाहकार आर.बि रौनियार, नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, सानिमा विकास बैंकका कार्यकारि अध्यक्ष वद्रीप्रसाद ओझा, कृषि उद्यम केन्द्रका कार्यकारि निर्देशक डा. देवभक्त शाक्य, नयां दिल्लीस्थित नेपाली राजदुतावासका इकोनोमिक काउन्सिलर केदारबहादुर अधिकारी र महासंघका सहायक निर्देशक रतिश वस्न्यात हुनुहुन्थ्यो भने भारतीय पक्षबाट सीआइआइका प्रतिनिधिहरु सहित टाटा, एशियन पेन्टस, हिन्दुस्तान लिभरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्मरणीय छ, नेपालमा भारतीय लगानीको प्रवाह र भारतमा नेपालको निर्यात बढाउने प्रमुख उद्देश्यले नेउवामहासंघ र सिआईआई बीच बि .सं २०५२ मा गठित नेपाल भारत संयुक्त आर्थिक परिषद (FNCCI-CII JEC) ले दुई देश बीचको व्यापार, लगानी, पर्यटन प्रवर्द्धन लगायत आर्थिक संबन्ध बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।