नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले रोल्पा उद्योग वाणिज्य संघको नयां निर्माण हुने सचिवालय भवनको हिजो रोल्पाको लिवाङ्गमा एक समारोहका बीच संयुक्त रुपमा शिलान्यास गर्नु भयो ।
करिव ५० लाख रुपैयांको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास पश्चात समारोहलाई सम्बोधन गर्नु हुंदै द्वितीय उपाधयक्ष जोशीले विगतको राजनीतिक अस्थिरता, अशान्ति र असुरक्षा, श्रम विवाद जस्ता प्रतिकूल औद्योगिक व्यवसायिक गतिविधिका कारण धरासायी अवस्थामा पुगेको देशको उद्योग व्यवसाय क्षेत्र बढ्दो विद्युत लोड सेडिङ्ग, तर्राई आन्दोलन र पेट्रोलियम पदार्थको अभावका कारण मर्माहत अवस्थामा पुगेको बताउनु भयो ।
उपरोक्त समस्याका कारण तराईका अधिकांश उद्योग व्यवसाय बन्द भई सकेका र अन्य भागमा समेत धमाधम बन्द हुन थालेको तथा यसबाट उत्पादन, आपूर्ति, ढुवानी, आवागमन, रोजगारी, राजश्व लगायत देशको समग्र अर्थतन्त्रमै अत्यन्त नराम्रो धक्का लाग्ने उल्लेख गर्नु हुंदै उहांले तत्काल समस्या समाधानका लागि सरकार गम्भीर हुनु पर्नेमा जोड दिनु भयो ।
त्यसैगरी उहांले दिन दहादै र राजधानीको मुटुमा समेत उद्योगी व्यवसायि माथि हुने गरेको सांघातिक आक्रमण, हत्या, हिंसा, लुटपाट एवं अपहरण लगायतका अशान्ति र असुरक्षाले निजी क्षेत्र अत्यन्त मर्माहत भएको उल्लेख गर्नु हुंदै सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो ।
महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले वर्तमान अवस्थामा औद्योगिक व्यवसायिक वातावरण अत्यन्त प्रतिकूल रहेको रहेको उल्लेख गर्नु हुंदै उद्योग व्यवसायको अत्यावश्यक कच्चा पदार्थ वा पूर्वाधारको रुपमा रहेको विद्युत र पेट्रोलियम पदार्थको सूचारु आपूर्ति तथा शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म उद्योग व्यवसायले गति लिने सम्भावना क्ष्ँिण हुंदै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नु भयो ।
देशमा एकातिर औद्योगिक व्यवसायिक वातावरण झन झन विग्रंदै गएको र अर्कोतिर अशान्ति र असुरक्षा बढ्दै गएका कारण नयां लगानी आउने त कुरै छाडौं भएको लगानी समेत पलायन हुन थालेको उल्लेख गर्नु हुंदै यसबाट राष्ट्रलाई दीर्घकालसम्म अपूरणीय क्षति पुग्ने धारणा उहांले व्यक्त गर्नु भयो ।
दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव राज श्रेष्ठ, मकवानपुर, पाल्पा र प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु क्रमशः दिपक श्रेष्ठ, पशुपति भट्टर्राई र राजकुमार कक्षपती, जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरु लगायतले सो समारोहमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघका कार्यवाहक अध्यक्ष किशोर आचार्यले सभापतिको आशनबाट उक्त भवन पूरा गर्न सबै क्षेत्रबाट सहयोग हुने अपेक्षा गर्नु भयो ।