नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीच हिजो भएको आठबुंदे सम्झौताको नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक स्वागत गर्दछ । आगामी संविधानसभाको निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निष्पक्ष, स्वच्छ र भयमुक्त वातावरणमा आगामी चैत्र २८ गतेनै सम्पन्न गर्ने प्रतिवद्धता सहित भएको यो सम्झौतालाई महासंघले ऐतिहासिक उपलव्धीको रुपमा लिएको छ ।
दुई साता भन्दा बढी समयदेखि मधेशमा जारी आन्दोलनबाट राजधानी लगायत मुलुककै आर्थिक सामाजिक जनजीवन एवं आपूर्ति व्यवस्था समेत तहसनहस हुनुको साथै उद्योग, व्यवसाय कलकारखाना, शैक्षिक लगायतका सम्पूर्ण क्षेत्र नराम्ररी प्रभावित हुन गई नजिकै आएको संविधान सभाको निर्वाचनलाई पनि अनिश्चयको घेरामा राखेको अवस्थामा हिजोको सम्झौताबाट सबै प्रकारका अनिश्चयहरु हटेर गएको ठहर महासंघको छ । मधेशमा जारी आन्दोलन उक्त सम्झौता पछि अन्त्य भई मुलुक अब संविधान सभाको निर्वाचनमा पूर्ण रुपले निश्चिन्त भई अघि बढ्ने विश्वास महासंघले लिएको छ ।
मुलुकका सम्पूर्ण जनतालाई समानता, स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनुका साथै सबै प्रकारका विभेदको अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य तथा वहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गर्नका लागि सरकार र मोर्चा बीच भएको उक्त सम्झौता तत्काल कार्यान्वयन हुनेमा कुरामा पनि महासंघ विश्वस्त छ ।
यसका साथै महासंघ विभिन्न मागहरु राखी वार्ताको टेवलमा रहेका विभिन्न पक्षसंगको वार्तालाई पनि छिट्टै निष्कर्षा पुर्ΕΎयाई मुलुकलाई सही निकास दिन नेपाल सरकार लगायत सम्बन्धित सबै पक्षसंग हार्दिक आग्रह गर्दछ ।