राज्य एउटा निश्चित गन्तव्यका लागि संविधानसभाको निर्वाचन मार्फत जनआन्दोलनका उपलव्धीहरुलाई संस्थागत गर्ने कार्यमा अघि बढेको संवेदनशील अवस्थामा वारम्वार अपराधिक घटनाहरु हुंदै जाने र राज्यको सुरक्षा संयन्त्र प्रभावकारी नहुंदा अपराधिक तत्वहरुको मनोवल बढन गई शान्ति सुरक्षाको अवस्थानै अस्तव्यस्त बन्न जांदा उद्योग व्यवसाय बन्द हुने, नयाँ लगानी ठप्प हुने र पूंजी पलायन हुने क्रम तीव्र भएकोले मुलुक गम्भिर आर्थिक दूर्घटनामा पर्ने देखिएकोले शान्ति सुरक्षाको प्रत्याभूतिका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण तत्काल श्रृजना गर्नको लागि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष नेपाली निजी क्षेत्रको तर्फबाट आज ज्ञापन-पत्र प्रस्तुत गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष बिनोद कुमार चौधरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, होटल संघ नेपालका अध्यक्ष प्रकाश श्रेष्ठ, आर्थिक उन्नतिका लागि सहकार्य (AEG) का संयोजक सुरज बैद्य र नेपाल बैंकर्स संघका अध्यक्ष राधेश पन्त सहितले हस्ताक्षर गरी उहांहरु तथा महासंघका निवर्तमान अध्यक्ष बिनोद बहादुर श्रेष्ठ सहितको निजी क्षेत्रको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कोइराला समक्ष आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी उक्त ज्ञापन-पत्र प्रस्तुत गरेको हो ।
प्रधानमन्त्री समक्ष प्रस्तुत ज्ञापन पत्रमा उल्लेखित प्रमुख मागहरुमा आम जनता एवं उद्योगी व्यवसायीको जीउधनको सुरक्षा सहित काम गर्ने स्थलमा (Work Place) पूर्ण सुरक्षाको अनुभूति गरियोस्, सर्वसाधारण एवं उद्योगी/व्यवसायीको हत्या, अपहरण, आक्रमण तथा फिरौति माग्ने जस्ता घोर निन्दनीय एवं अपराधिक कार्यहरु तुरुन्त बन्द गरी यस्ता अपराधिक घटनामा संलग्न व्यक्तिहरु माथि तुरुन्त कडा कारवाही सहित यस्ता अपराधिहरु र कारवाहीलाई र्सार्वजनिक गरियोस् र यस्ता घटनाको अनुगमन गर्न तथा कारवाही अघि बढाउन नेपाल सरकारका मुख्य सचिबको संयोजकत्वमा गृह सचिब, प्रहरी महानिरीक्षक र निजी क्षेत्र समेतको प्रतिनिधित्वमा एक समिति तुरुन्त गठन गरियोस् रहेको छ ।
साथै ज्ञापन पत्रमा सुरक्षाका दृष्टिले सबैभन्दा संवेदनशील राजधानी लगायत मुलुकमा श्रृंखलावद्ध रुपमा भएका हत्या हिंसा, अपहरण/फिरौति, कुटपिट र आतंक जस्ता अमानवीय कृयाकलापले उद्योगी व्यवसायी लगायत र्सवसाधारण समेत जीउधनको सुरक्षामा बढी चिन्तित भएका र र्सवत्र त्रासको वातावरण रहेको उल्लेख गर्दै काठमाडौबाट केही दिन अघि मात्र एक जना उद्योगपतिलाई गोली हानेको घटना सेलाउन नपाउंदै गत शुक्रवार काठमाडौंको एक व्यापारी दम्पती माथि भएको छुरा प्रहार, व्यापारी पत्नीको हत्या एवं उपत्यका बाहिरका कतिपय उद्योग प्रतिष्ठान एवं उद्योगी व्यवसायीको निवासमा भएको विस्फोटन एवं हत्या जस्ता श्रृंखलाबद्ध घटनाले सुरक्षा व्यवस्था अत्यन्त नाजुक भएको र वातावरणलाई अत्यन्त त्रासदीपूर्ण बनाएको तथा यस्तो बस्तुस्थितिले आम जनताको सुरक्षाको जिम्मा लिएको सरकार र सुरक्षा निकायबाट यस्तो सम्वेदनशिल विषयलाई नियन्त्रण गर्ने कार्यमा सक्षमता नदेखिएको आभास भएको उल्लेख छ ।
त्यसैगरी, ज्ञापन पत्रमा जनधनको रक्षा र उद्योग व्यवसाय सुसंचालनको सुनिश्चितता सहित उद्योग व्यवसायलाई तहस नहस पार्न उद्दत भएको देखिएका यस्ता हत्या, अपहरण, फिरौति, कुटपिट, विस्फोट र आतंक जस्ता गतिविधि तुरुन्त रोक्ने माग राख्दै गत २०६३ साल चैत्र ५ गतेदेखि ७ गतेसम्म निजी क्षेत्रले गरेको आन्दोलनको पृष्टभूमिमा सरकार र माओवादी सहितको तत्कालिन आठ राजनीतिक दलले समस्या समाधान गर्ने लिखित रुपमा सार्वजनिक प्रतिवद्धता गरेको स्मरण गराउंदै यस बीचमा पर्यटन क्षेत्रका साथै उद्योग/व्यवसायले एकातिर श्रम समस्या, बन्द हडताल, विद्युतको अभाव जस्ता प्रतिकूल औद्योगिक वातावरणसंग भिड्नु परेको तथा दिनहुं जसो अशान्ति र असुरक्षाबाट जनधनको नोक्सानी व्यहोर्नु परेकोले शान्ति सुरक्षाको प्रत्याभुति दिई उद्योग व्यवसाय गर्ने वातावरण बनाई दिन नेपाल सरकार समक्ष वारम्वार आग्रह गर्दा पनि उद्योग व्यवसायनै ध्वस्त हुने अवस्था सृजना भएको उल्लेख गरिएको छ ।
साथै विद्युत आपूर्तिमा भएको भारि लोड सेडिङ्गबाट उद्योग क्षेत्रले ६० प्रतिशत उत्पादन कटौति गर्न पर्नुका साथै उत्पादन लागत वृद्धि हुन गएको हुंदा विद्युत आपूर्ति सुचारु गर्न निजी क्षेत्रको सुझाव तत्काल कार्यान्वयन गरिनु पर्ने पनि उक्त ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्रमा शान्ति सुरक्षाको प्रत्याभुति दिने कार्यका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण बनाउने कार्यबाट अव सरकार एक मिनेट पनि चुक्यो भने उद्योग व्यवसाय पूर्ण रुपमा ध्वस्त हुने वातावरण श्रृजना भई मुलुकमा थप अराजकता समेत व्याप्त हुने तर्फ पनि प्रधानमन्त्रीको गम्भीर ध्यान आकर्षण गराईएको छ ।