नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एवं वरिष्ठ नेता बाबुराम भट्टराईसंग नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको प्रतिनिधिमण्डलले आज पार्टी कार्यालय, बुद्धनगरमा भेटि मुलुकमा हुन गई रहेको नेपाली जनताको लामो चाहनाको प्रतिरुप संविधान सभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा निजी क्षेत्रको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ ।
महासंघका नव निर्वाचित अध्यक्ष, उपाध्यक्षहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको स्वागतका लागि नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले आयोजना गर्नु भएको उक्त भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष जोशीले नेपाल र नेपाली जनताको भाग्य रेखा कोर्ने ऐतिहासिक महत्वको संविधान सभा निर्वाचनको क्रममा उद्योगी व्यवसायीले जस्तोसुकै समस्या र पीडालाई समेत विर्सिएर संविधान सभा निर्वाचनलाई सफल पार्ने अभियानमा लागि परेको बताउनु हुंदै निजी क्षेत्रको मनोबल बढाउन सबै मिलेर जानु पर्ने र आर्थिक क्रान्ति विना नयां नेपाल निर्माण सम्भव नभएकोले यस तर्फ राजनीतिक दलहरुले सक्रियतापर्ूवक लाग्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।
साथै उहांले नयां तथा समुन्नत र समृद्ध नेपालका लागि आर्थिक मुद्दाले राजनीतिक दिशा निर्दिष्ट गर्ने विश्वास व्यक्त गर्दै उद्योग व्यवसाय क्षेत्र माथि विभिन्न तत्वबाट निरन्तर रुपमा हुने गरेको आक्रमण र दवावलाई गम्भीरतापूर्वक लिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउने, औद्योगिक सुरक्षा बल गठन गर्ने तथा निजी क्षेत्रले उठाएको आर्थिक एजेण्डालाई अघि बढाउने कार्यमा सहयोगका लागि समेत अध्यक्ष प्रचण्डसंग आग्रह गर्नु भयो ।
सो अवसरमा नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले देश अहिले राजनीतिक टुंगोमा पुग्दै रहेको र यस पछि दीगो एवं स्थायी शान्ति तथा आर्थिक विकासको मार्ग प्रसस्त हुने उल्लेख गर्नु हुंदै आफ्नो पार्टिको आर्थिक नीतिमा शंका नगर्न पनि उक्त प्रतिनिधिमण्डललाई आग्रह गर्नु भयो ।
साथै उहांले संविधान सभा निर्वाचनबाट एउटा संक्रमणकाल समाप्त भई आर्थिक क्रान्ति अघि बढ्ने उल्लेख गर्नु हुंदै यस क्रममा लगानी एवं व्यवसाय मैत्री वातावरण बनाउन आफ्नो पार्टी तयार रहेको हुंदा यस प्रक्रियामा विना सन्देह अघि बढ्न समेत महासंघको प्रतिनिधिमण्डललाई आव्हान गर्नु भयो ।
प्ररम्भमा नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईले उक्त प्रतिनिधिमण्डलको स्वागत गर्नु हुंदै मुलुक अहिले संविधान सभा निर्वाचन मार्फत राजनीतिक निकास तर्फ गई रहेको र तत्पश्चात आफ्नो पार्टी आर्थिक क्रान्ति शुरु गर्ने तथा यस कार्यमा निजी क्षेत्रलाई साथै लिएर अघि बढ्ने विश्वास दिलाउनु भयो ।
सो प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षद्वय कृष्ण प्रसाद ताम्राकार तथा प्रदीपजंग पाण्डे, पूर्व उपाध्यक्ष दिवाकर गोल्छा र्एव कार्यकारिणी समितिका सदस्यहरु र का.मु. महानिर्देशक मेघनाथ न्यौपाने सम्मिलित हुनु हुन्थ्यो ।