नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारमा दर्ता भएको चैत्र २८ गतेको दिनलाई वि.सं. २०५६ सालदेखि मुलुकभरि प्रत्येक वर्ष "उद्योग वाणिज्य दिवस"को रुपमा मनाइदै आएको छ । निजी क्षेत्रका लागि यो सबैभन्दा महत्वपूर्ण चाड हो । राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकाको पहिचान गराउने यो दिवसलाई नेपाल सरकारले पनि राष्ट्रिय दिवसका रुपमा मान्यता प्रदान गरी आएकोमा हामीलाई गौरव लागेको छ । यस अवसरमा म सम्पूर्ण निजीक्षेत्रमा हार्दिक स्वागत अभिवादन प्रकट गर्दछु ।
यस वर्षचैत्र २८ गतेका दिन हामी सबै मुलुकको भाग्य रेखा कोर्ने ऐतिहासिक संविधानसभाको निर्वाचनमा सहभागि हुंदैछौं । यस अवसरमा निजी क्षेत्रको सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघको छातामुनी हामी निजी क्षेत्र आम नेपालीको सुनौलो भविष्य, स्थायी शान्ति एवं आर्थिक एजेण्डासंगै नयां नेपाल निर्माण गर्ने अवसरको रुपमा गांसिएको संविधानसभाको निर्वाचनलाई पूर्ण रुपमा सफल पार्ने महान अभियानमा ऐक्यवद्धताका साथ लाग्ने प्रण एवं प्रतिवद्धता व्यक्त गर्दछौं ।
संविधानसभा निर्वाचन पश्चात बन्ने मुलुकको मूल कानून संविधानले मुलुकका सबै वर्ग तथा क्षेत्रको भावना र आशालाई प्रतिनिधित्व गर्नेछ । अब बन्ने संविधानले आर्थिक विकासका अल्पकालीन तथा दीर्घकालिन कार्यक्रमहरु स्पष्ट रुपले प्रस्तुत गरी मुलुकलाई सम्पूर्ण रुपले आर्थिक क्रान्तिमा होम्ने तर्फनिर्दिष्ट गर्नुपर्ने भावना निजी क्षेत्रको छ । महासंघले नयां बन्ने संविधानमा उल्लेख गर्नुपर्ने आर्थिक विषयवस्तु कस्तो हुनुपर्ने भन्ने सुझाव छिट्टै पेश गर्नेछ । आर्थिक मुद्धामा केन्द्रित नगरिए संविधानसभा पछि पनि असन्तुष्टि कायमै रहने र मुलुक झन अस्थिरता तर्फधकेलिने हुंदा आर्थिक उन्नतिले मात्र द्धन्द्धको रुपान्तरण गर्छ भन्ने वास्तविकतालाई मनन गर्न महासंघ यस अवसरमा सवैमा अपिल समेत गर्दछ ।
अन्त्यमा, संविधानसभाको निर्वाचन पश्चात देशमा दीगो र स्थायी शान्ति बहाली तथा कानूनी शासनको प्रत्याभूति गराउंदै सुशासन र राजनीतिक स्थायित्व तथा अनुकूल औद्योगिक व्यवसायिक वातावरण सहित आर्थिक एजेण्डाका साथ आर्थिक क्रान्तिलाई अघि बर्ढाई गिरेको उद्योग व्यवसाय तथा अर्थतन्त्रको पुनरुत्थान एवं तिब्र विकास गर्दै जानु अत्यावश्यक छ । आगामी दिनहरुमा समेत राष्ट्र र जनहितका कार्यमा उद्योग वाणिज्य व्यवसाय क्षेत्रको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उद्योग वाणिज्य दिवस-२०६४ को उपलक्ष्यमा सबैमा हार्दिक अभिवादन सहित शुभकामना प्रकट गर्दछौं ।
कुशकुमार जोशी
अध्यक्ष