नेपाली जनताको लामो समयको चाहना, प्रतिक्षा एवं प्रयासको प्रतिरुप तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित हुन पुगेको संविधान सभाको निर्वाचन यही २०६४ साल चैत्र २८ गते शान्ति पूर्ण रुपमा सफलतापूर्वक, व्यापक सहभागिता र उत्साहका साथ सम्पन्न भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ समग्र निजी क्षेत्रको तर्फबाट सम्पूर्ण नेपाली जनता, नेपाल सरकार, सम्पूर्ण राजनीतिक दलहरु एवं निर्वाचन आयोगको सराहना सहित आभार व्यक्त गर्दछ ।
साथै यस ऐतिहासिक संविधान सभाको निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन र नेपाली जनताको दीगो तथा स्थायी शान्ति र आर्थिक विकासको उत्कठ अभिलाषालाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउन अन्तर्राष्ट्रिय निकाय, दातृ संस्था एवं कुटनीतिक नियोगहरु समेतबाट प्राप्त सहयोग र सद्भावको लागि समेत महासंघ हार्दिक आभार व्यक्त गर्न चाहन्छ ।
नेपालमा दीगो र स्थायी शान्ति स्थापना तथा नेपाली जनताको भाग्यको फैसला गर्ने क्रममा सम्पन्न उक्त ऐतिहासिक निर्वाचनबाट प्राप्त परिणाम अर्थात नेपाली जनताको महान अभिमतलाई सबै पक्षले सौहार्दपूर्ण रुपमा सहर्षस्वीकार गरी आर्थिक रुपले सम्पन्न नयाँ नेपालको परिकल्पना साकार पार्ने ढंगको संविधान निर्माण गर्नमा सहयोग गर्नुका साथै नयाँ तथा समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अव सरकार एवं सम्पूर्ण राजनीतिक दलहरुले निजी क्षेत्रको दीर्घकालिन अपेक्षा तथा आम जनताको चाहना र आवश्यकता अनुरुपको आर्थिक एजेण्डा सहितको आर्थिक क्रान्तिलाई अघि बढाई अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गर्दै आर्थिक एवं सामाजिक दृष्टिले देश र देशवासीलाई समृद्ध तथा सम्पन्न बनाउने कार्यमा इमान्दारि एवं सक्रियतापूर्वक कार्य गरी निर्वाचन घोषणा पत्रमा गरिएका प्रतिबद्धतालाई पूरा गर्दै जाने विश्वास समेत महासंघले गरेको छ ।