नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) का आवासीय प्रतिनिधि रवर्ट पाइपर (Robert Piper) बीच आज महासंघको सचिवालयमा भएको बैठकमा नेपालको परिवर्तित अवस्थामा राष्ट्र संघीय सहयोग र नेपाली निजी क्षेत्रको भूमिका सम्बन्धमा विस्तृत छलफल भयो ।
बैठकमा अध्यक्ष जोशीले नेपालमा लामो समयको द्वन्दको अन्त भई संविधानसभा निर्वाचन मार्फत देशले राजनीतिक निकास लिन लागेको हुंदा अव सरकार र निजी क्षेत्रको सहभागितामा प्रमुख रुपमा आर्थिक एजेण्डालाई अघि बढाउंदै आर्थिक क्रान्ति ल्याउनु पर्ने र यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न निजी क्षेत्र तयार रहेको उल्लेख गर्नु हुंदै सो कार्यमा अन्तर्राष्ट्रिय सहयोगको निरन्तरता आवश्यक भएको बताउनु भयो ।
साथै उहांले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गर्नु हुंदै अव नेपालको विकास प्रक्रियामा सार्वजनिक-निजी साझेदारीको अवधारणालाई नयाँ सोचका साथ अघि बढाउनुपर्ने, संस्थागत क्षमता विकास गर्दै जानु पर्ने, दीगो विकासको मोडलका साथ कार्यक्रमलाई अघि बढाउनु पर्ने, निजी क्षेत्रको सुझावलाई सरकारले कार्यान्वयन गर्नु पर्ने, श्रम नीतिमा सुधार गर्नु पर्नेमा जोड दिनु हुंदै सरकार, संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय एवं द्विपक्षीय निकायसंग समेत मिलेर काम गर्न निजी क्षेत्र तयार रहेको स्पष्ट पार्नु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष सुरज बैद्यले अव नेपालले आफ्नो उत्पादन, सेवा र ब्राण्डको विकासका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा यसको परिचय गराउनु पर्ने र लगानी बृद्धि गरी रोजगारीका अवसर व्यापक रुपमा विस्तार गर्नु पर्ने हुंदा शान्ति सुरक्षा सुदृढ हुनुका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गर्नु पर्ने, नेपालमा समेत देखिएको खाद्य संकट समाधान गर्न संयुक्त राष्ट्र संघले विशेष कार्यक्रम तय गर्नु पर्ने तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निजी क्षेत्रलाई सहभागी बनाउनु पर्नेमा जोड दिनु भयो ।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समितिका सदस्य किशोर कुमार प्रधान र का.मु. महानिर्देशक मेघनाथ न्यौपाने तथा नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका देशीय निर्देशक (Country Director) अने-इसावेल डेग्रेस ब्लष्टेउ (Anne-Isabelle Degryse - Blsteau) को समेत उपस्थिति रहेको उक्त बैठकमा आवासीय प्रतिनिधि पाइपर (Piper) ले नेपाली निजी क्षेत्रसंगको सहकार्यलाई अझ विस्तार गर्न राष्ट्र संघ तयार रहेको जानकारी दिनु हुंदै प्रमुख रुपमा नीति निर्माण, गरिवी निवारण, रोजगारी अभिबृद्धि, पूर्वाधार विकास एवं पूनर्निर्माणमा सहयोग बढाइने र यसका लागि निजी क्षेत्रसंग समेत विस्तृत छलफल एवं सहकार्य गरिने बताउनु भयो ।