नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालमा राजनीतिक द्वन्द समाप्त भएकाले राजनीतिक दलहरुले अव सडकमा द्वन्द नगरि उत्कृष्ट संविधान निर्माण गरि आर्थिक क्रान्तिका लागि अघि बढ्न आग्रह गर्नु भएको छ ।
उद्योग वाणिज्य संघ बुटवलद्वारा हिजो बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष जोशीले १० वर्षो द्वन्दमा मुलुकको आर्थिक क्षेत्र विक्षिप्त अवस्थामा पुगेकोले उद्यमशीलताको विकास, श्रोत साधनको अधिकतम परिचालन सहितको आर्थिक विकास अहिलेको प्रमुख आवश्यकता भएको बताउनु भयो ।
आर्थिक क्रान्तिको बाहक निजी क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष जोशीले व्यवसायिक एकता र साझा आर्थिक अवधारणाका लागि महासंघले अन्य व्यवसायिक संघ/संस्थाहरुसंग पनि छलफल गरिरहेको जानकारी गराउनु भयो ।
उहांले नेपालले भारतसंगको व्यापारमा ठूलो घाटा सहनु परेकाले उक्त व्यापार घाटालाई कम गर्दै दुवै देशका जनतालाई फाइदा पुग्ने गरी आपसी सहयोगका क्षेत्र पहिचान गरि अघि बढ्न आवश्यक भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष नवराज श्रेष्ठले परम्परागत ढंगबाट व्यापार व्यवसाय संचालन गर्ने परिपाटीको अन्त्यका लागि महासंघले विशेष नयां क्षेत्रको पहिचान गर्नुपर्ने बताउनु भयो । उहांले चन्दा, असुरक्षा र सहज आपर्ूर्ति अहिलेपनि प्रमुख चुनौतीको रुपमा देखिएको बताउनु भयो ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले महासंघका नवनिर्वाचित अध्यक्ष जोशी, कार्यकारिणी समितिका सदस्यहरु गुणनिधि तिवारी र ध्रुवकुमार श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।
संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजुले नेकपा (माओवादी) को नेतृत्व तहबाट भएको आर्थिक प्रतिवद्धतालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
संघका वाणिज्य उपाध्यक्ष शंकर श्रेष्ठले कृषि उद्यम केन्द्रलाई थप सहयोग गर्न र सीमा क्षेत्रको अवैध व्यापार नियन्त्रण गर्न महासंघले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।
संघका महासचिव रोहितराज क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा रमेश पाण्डे, वैजनाथ जयसवाल लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।