उद्यमी व्यवसायीहरुले राजनीतिक पार्टीले परिकल्पना गरेको नयां नेपाल निर्माणका लागि उद्योग व्यवसाय गर्ने उपयुक्त वातावरण बनाई आर्थिक क्रान्तिको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् ।
स्याङजा जिल्ला उद्योग वाणिज्य संघको हिजो स्याङजामा सम्पन्न ३० औं वाषिर्क साधारण सभा एवं अधिवेशनका अधिकांश वक्ता उद्यमी व्यवसायीहरुले सो कुरामा जोडदिदैं दीगो शान्ति सुरक्षाको प्रत्याभुति सहित आर्थिक विकास मैत्री नीति नियम ल्याउन समेत सरकार तथा राजनीतिक दलहरुलाई आग्रह गरे । निजी क्षेत्रले उठान गरेका विषयहरुलाई सरकार तथा राजनीतिक दलहरुले प्राथमिकता सहित अघि बढाएमा आर्थिक क्रान्ति एवं नयां नेपालको कल्पनाले साकार रुप लिने धारणा उद्यमी व्यवसायीहरुको थियो ।
उक्त साधारण सभाको उद्घाटन गर्नुहुंदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले देशमा विद्यमान गरिवी र वेरोजगारीका अन्त्यका लागि आर्थिक क्रान्ति आवश्यक भएको र यसका लागि राजनीतिक प्रतिवद्धता र दृढ इच्छा शक्ति हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष जोशीले आर्थिक विकासका लागि स्थानीय श्रोत साधनलाई उपयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहांले अव द्वन्द नगरि उत्कृष्ट संविधान निर्माण मार्फ आर्थिक विकासलाई अघि बढाउन पनि आग्रह गर्नु भयो ।
नयां नेपाल निर्माण र आर्थिक क्रान्तिका लागि ठूलो चुनौती भएपनि यसलाई अवसरको रुपमा लिनुपर्ने बताउंदै अध्यक्ष जोशीले सरकारले शान्ति सुरक्षा दिन नसके आर्थिक विकास सम्भव नहुने स्पष्ट पार्नुभयो । साथै उहांले उद्योगी व्यवसायीले प्रमुख समस्याको रुपमा भोग्नुपरेको सिण्डिकेट प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले कृषिको व्यवसायीकरण, जलविद्युत, पर्यटन आदि महत्वपूर्ण क्षेत्रहरु भएकाले श्रोत साधनको अधिकतम परिचालन सहित यी क्षेत्रको विकासमा राष्ट्रको ध्यान एकिकृत हुनुपर्नेमा जोड दिनु भयो । उहांले जिल्ला उद्योग वाणिज्य संघहरुलाई सक्षम र प्रभावकारी पार्दै लैजाने महासंघको योजना रहेकोले यसमा सहयोग गर्न संघहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमम महासंघका कार्यकारिणी समिति सदस्यहरु वृषराज श्रेष्ठ, चोपनारायण श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य र लेखनाथ, पोखरा र वालिङ उद्योग वाणिज्य संघका अध्यक्षहरु वावुराम जमरकट्टेल, दीपक श्रेष्ठ र ले.यामबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतले शुभ-कामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम संघका अध्यक्ष कृष्णमान श्रेष्ठको सभापत्विमा सम्पन्न भएको थियो ।