नेपाली जनताले लामो समयदेखि पटक पटक गर्दै आएका ऐतिहासिक संर्घष, क्रान्ति र जनआन्दोलन मार्फत अभिव्यक्त जनादेशको सम्मान गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न राजनीतिक दलहरुका बीच भएको सहमति तथा नेपालको अन्तरिम संविधान अनुरुप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषित हुनुको साथै संविधान सभाको हिजो बसेको पहिलो वैठकबाट लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको घोषणा भई यस सम्बन्धी व्यवस्था कार्यान्वयन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ समस्त निजी क्षेत्रको तर्फबाट सम्पूर्ण नेपालीमा हार्दिक बधाई सहित शुभ-कामना व्यक्त गर्दछ ।
साथै ऐतिहासिक एवं दुरगामी उक्त निर्णयबाट नयां बिहानीमा प्रवेश गरेको नयाँ नेपालमा सामाजिक कुरिती, हत्या, हिंसा, असुरक्षा, लुटपाट जस्ता घटना हुने छैनन्, द्वन्दका इतिहास अव दोहोरिने छैनन् र लेखिने पनि छैनन् भन्ने कामना सहित गणतन्त्रको संस्थागत विकासका साथै राजनीतिक स्थायित्व एवं दिगो तथा स्थायी शान्ति स्थापनासंगै आर्थिक सामाजिक लगायत समग्र विकासले गतिलिने, निर्धारित समयमानै नयाँ संविधानको निर्माण भई समुन्नत तथा समृद्ध नेपाल र सम्पन्न नेपाली बनाउने कार्यमा सम्पूर्ण राजनीतिक दल एवं सबै क्षेत्रबाट इमान्दारीपूर्वक योगदान हुने र देशमा अनुकूल औद्योगिक व्यवसायिक वातावरण सहित आर्थिक क्रान्तिको थालनी हुने विश्वास समेत यस महासंघले लिएको छ ।