टर्कीका राष्ट्रपति अब्दुल्लाह गुल (Abdullah Gul) संग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले आज टर्कीको अंकारा (Turkey, Ankara) मा शिष्टाचार भेट गर्नु भयो । अध्यक्ष जोशीको नेतृत्वमा टर्की/एशिया प्रशान्त बैदेशिक व्यापार सम्बन्ध (Turkey/Asia-Pacific Foreign Trade Bridge-2) बिषयक क्षेत्रीय गोष्ठीमा भाग लिन महासंघको पाँच सदस्यीय प्रतिनिधिमण्डल गत शनिवार टर्की गएको थियो ।
उक्त अवसरमा महासंघका अध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता जोशीले नेपालमा व्यापार एवं लगानीका नयाँ अवसर सम्बन्धमा प्रकाश पार्नु हुंदै लामो समयदेखिको राजनीतिक एजेण्डा निष्कर्षमा पुगेको हुंदा अव नेपालमा आर्थिक एजेण्डा सहितको आर्थिक क्रान्ति अघि बढ्ने भएकोले यस क्रममा टर्कीको अनुभव, प्रविधि एवं लगानी नेपालको लागि अत्यन्त उपयोगी हुने हुंदा नेपालमा लगानी एवं पर्यटन प्रवाहका लागि पहल गर्न राष्ट्रपति गुल समक्ष आग्रह गर्नु भएको छ ।
यसै बीच नेपाल तथा टर्की बीच व्यापार लगानी तथा पर्यटन प्रबर्द्धनका साथै अन्य आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen and Industrialists of Turkiye) बीच हिजो इस्तानबुल (Istanbul) मा हस्ताक्षर भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का तर्फबाट अध्यक्ष कुशकुमार जोशी र टर्की उद्योग वाणिज्य महासंघ (CBIT) को तर्फबाट अध्यक्ष रिजनुर मेरल (Rizanur Meral) ले उक्त स्मृति पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
स्मृति पत्र अनुसार दुवै मुलुकका साना तथा मझौला उद्योग व्यवसाय प्रबर्द्धनका लागि औद्योगिक व्यापारिक आर्थिक एवं वित्तीय संस्थाहरु बीच आपसी सहयोग विस्तार, आर्थिक व्यापारिक एवं कानूनी सूचना तथा जानकारी र प्रतिनिधिमण्डलको आदान प्रदान गर्न दुवै पक्ष बीच सहमति भएको छ ।
त्यसैगरी एक अर्को देशमा आयोजित औद्योगिक तथा व्यापार मेलामा सहभागिता, आर्थिक तथा व्यापारिक विवादको समाधान, दुवै पक्षले आवश्यक महसूस गरेको बिषयमा बैठक तथा छलफल गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।
महासंघबाट गएको उक्त प्रतिनिधिमण्डलले टर्कीको समकक्षि संस्था टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen and Industrialists of Turkey) का पदाधिकारी एवं सदस्यहरु लगायत सरकारी एवं निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्थासंग समेत आर्थिक सम्बन्ध विस्तार वारे विस्तृत छलफल गरेको छ ।
साथै उक्त प्रतिनिधिमण्डलले द्विपक्षीय एवं वहुपक्षीय व्यवसायिक वैठकहरुमा भाग लिई नेपालसंग आर्थिक सम्बन्ध विस्तारमा पहल गर्नुका अतिरिक्त त्यहांका प्रमुख औद्योगिक क्षेत्र एवं उद्योगहरुको स्थलगत अध्ययन अवलोकन गर्दैछ ।