टर्कीको इस्तानवुल (Turkey, Istanbul) मा आयोजित टर्की/एशिया प्रशान्त वैदेशिक व्यापार सम्बन्ध (Turkey/Asia-Pacific Foreign Trade Bridge-2) विषयक क्षेत्रीय बैठकलाई असार ३ गते सम्बोधन गर्नुहुंदै अध्यक्ष जोशीले नेपालमा पर्यटन, जलविद्युत, कृषि उद्यम, उत्पादनमुलक तथा सेवा उद्योग व्यवसायमा लगानीको प्रशस्त सम्भावना रहेको र टर्की सहित यस क्षेत्रका अन्य मुलुकबाट समेत आर्थिक सम्बन्ध विस्तारका लागि आग्रह गर्नुभयो ।
नेपाल लगायत विभिन्न २२ मुलुकका सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय सहभागीता रहेको मन्त्रीस्तरीय उक्त वैठकमा अध्यक्ष जोशीले नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको अग्रसरतामा वैदेशिक लगानी तथा प्रविधि समेतको सहकार्यमा नेपालमा संयुक्त लगानी विस्तारका लागि कार्य भैरहेको र यसतर्फसफलता पनि मिल्दै गएको जानकारी गराउनु भयो ।
नेपाल सानो मुलुक भएपनि विशाल जनसंख्या र ठूलो बजार भएका छिमेकी मुलुक भारत र चीनको बीचमा रहेकाले यहां लगानी तथा आर्थिक सम्बन्ध विस्तार गरी ठूलो लाभ उठाउन सकिने प्रशस्त सम्भावना रहेको प्रष्ट पार्दै उहांले यस क्षत्र बीच रहेको अधिक सम्भावनालाई यथार्थतामा परिणत गर्न प्रस्तुत बैठक कोशेढुंगा हुने धारणा राख्नु भयो ।
टर्कीका प्रधानमन्त्रीले उद्घाटन गर्नु भई एशिया प्रशान्त क्षेत्रका मुलुकहरु बीच व्यापार तथा लगानीका नयां अवसर तथा अन्य आर्थिक सम्बन्ध विस्तार बारे वृहत छलफल भएको सो बैठकमा अध्यक्ष जोशीले नेपालमा नयां नेपाल निर्माणका क्रममा लगानी तथा व्यवसायिक अवसर विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल र र्टर्की लगायत एशिया प्रशान्त क्षेत्रका मुलुक बीच व्यापार, लगानी, पर्यटन लगायत आर्थिक सम्बन्ध विस्तारको प्रशस्त सम्भावना रहेकोले त्यसको उपयोगमा जोड दिनु भयो ।
बैठककै अवसरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी (International Trade Exhibition) को नेपाली प्रतिनिधिमण्डलले अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा नेपाल समुद्रपार निकासी पैठारी संघका निवर्तमान अध्यक्ष अखिल कुमार चापागाईं एवं व्यवसायीहरु रमेश कुमार खेतान, रुपक प्रधान र रुपेश प्रधान हुनुहन्थ्यो ।
टर्की भ्रमणकै क्रममा महासंघका अध्यक्ष जोशीले टर्कीका राष्ट्रपति अब्दुल्लाह गुल (Abdullah Gul) संग असार ४ गते टर्कीको अंकारामा शिष्टाचार भेट गर्नु भयो ।
उक्त अवसरमा महासंघका अध्यक्ष एवं प्रतिनिधिमण्डलका नेता जोशीले नेपालमा व्यापार एवं लगानीका नयाँ अवसर सम्बन्धमा प्रकाश पार्नु हुंदै नेपालको आर्थिक विकासमा टर्कीको अनुभव, प्रविधि एवं लगानी अत्यन्त उपयोगी हुने हुंदा नेपालमा लगानी एवं पर्यटन प्रवाहका लागि पहल गर्न राष्ट्रपति गुल समक्ष आग्रह गर्नु भएको थियो ।
यसै बीच टर्कीका वाणिज्य राज्यमन्त्री कुसाद तुजमेन (Kursad Tuzmen) को समुपस्थितिमा नेपाल तथा टर्की बीच व्यापार लगानी तथा पर्यटन प्रबर्द्धनका साथै अन्य आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen and Industrialists of Turkye) बीच असार ३ गते इस्तानबुलमा हस्ताक्षर सम्पन्न भयो ।
उक्त स्मृतिपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष जोशी र टर्की उद्योग वाणिज्य महासंघ (CBIT) को तर्फबाट अध्यक्ष रिजनुर मेरल (Rizanur Meral) ले हस्ताक्षर गर्नु भएको थियो ।
स्मृतिपत्र अनुसार दुवै मुलुकका उद्योग व्यवसाय प्रबर्द्धनका लागि औद्योगिक व्यापारिक, आर्थिक एवं वित्तीय संस्थाहरु बीच आपसी सहयोग विस्तार, आर्थिक व्यापारिक सूचना तथा जानकारी र प्रतिनिधिमण्डलको आदान प्रदान गर्न दुवै पक्ष बीच सहमति भएको छ ।
त्यसैगरी एक अर्को देशमा आयोजित औद्योगिक तथा व्यापार मेलाको आयोजना एवं सहभागिता, व्यापार तथा लगानी सम्बन्धी अनुसन्धान र मानव संसाधन विकासमा सहयोग आदान प्रदान सहित आवश्यक महसूस गरेको बिषयमा बैठक तथा छलफल गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।
साथै महासंघबाट गएको उक्त प्रतिनिधिमण्डलले टर्कीको समकक्षि संस्था टर्की उद्योग वाणिज्य महासंघ (Confederation of Businessmen and Industrialists of Turkey) का पदाधिकारी एवं सदस्यहरु लगायत सरकारी एवं निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्थासंग समेत आर्थिक सम्बन्ध विस्तार वारे विस्तृत छलफल गरेको थियो ।
यसका अतिरिक्त उक्त प्रतिनिधिमण्डलले द्विपक्षीय एवं वहुपक्षीय व्यवसायिक वैठकहरुमा भाग लिई नेपालसंग आर्थिक सम्बन्ध विस्तारमा पहल गर्नुका साथै त्यहांका प्रमुख औद्योगिक क्षेत्र एवं उद्योगहरुको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।