पेट्रोलियम पदार्थको सहज आपूर्तिको माग सहित नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनले असार १ गतेदेखि जारी राखेको आन्दोलनप्रति हालसम्म ठोस निष्कर्षमा पुग्न नसक्दा उत्पन्न असहज अवस्था प्रति नेपाल उद्योग वाणिज्य महासंघले अत्यन्त चिन्ता प्रकट गर्दै एशोसिएशनको उक्त आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ ।
अहिलेको तरल राजनीतिक अवस्थामा जनताको प्रत्यक्ष जीवनयापनसंग गांसिएको पेट्रोलियम पदार्थको सहज आपूर्तिको मागलाई यतिका दिनसम्म थांती राख्दा मुलुकभर थप अराजकता उत्पन्न हुन सक्ने खतरा प्रति महासंघ चिन्तित भएको छ ।
देशमा पेट्रोलियम पदार्थको अभाव विगत दुई वर्षदेखि हुंदै आएबाट उद्योग, व्यवसाय, यातायात, ढुवानी लगायत आम जनताले ठूलो हैरानी खेप्दै आएको पृष्ठभूमिमा हालै गरिएको मूल्य बृद्धि पछि पनि सरल र सहज रुपमा आवश्यकतानुसार आपूर्ति हुन नसक्नु अत्यन्त दुःखदायी कुरा हो ।
तसर्थ, एशोसिएशनको जायज मागहरुलाई शीघ्र समाधान गरी आवश्यकतानुसार सरल र सहज रुपमा पेट्रोलियम पदार्थ आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकार एवं सम्बन्धित निकायसंग आग्रह गर्दै महासंघले आफनो तर्फबाट निभाउनु पर्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको विश्वास समेत दिलाएको छ ।