मेचीनगर-१ धुलावारीका कपडा व्यवसायी आत्माराम अग्रवालको घरमा हालै सशस्त्र डांकाहरुको समूहले डकैती गरि निज व्यवसायी अग्रवाललाई गोली हानी हत्या गरेको घटना र महोत्तरी गौशालाका हार्ड वेयर व्यवसायी वीरबहादुर श्रेष्ठको हालै अपहरणपछि गोली हानी हत्या गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त मर्माहत भएको छ । महासंघ यस्ता अमानवीय अपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछ ।
यसै क्रममा मेची उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायी अग्रवालको हत्या तथा उक्त आक्रमणको विरोधमा दोषीलाई तत्काल कारवाही हुनुपर्ने, पीडित पक्षलाई उचित क्षतिपूर्ति सहित घाइतेको स्वास्थ्योपचार खर्च राज्यले व्यहोर्नुपर्ने, मेचीनगरको धुलावरी क्षेत्रमा सशस्त्र प्रहरी वलको वेसक्याम्प स्थापना हुनुपर्ने, जनताको जीउधनको सुरक्षाको उचित व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखी आजदेखि मेचीको धुलावारी चोकमा विभिन्न राजनीतिक पार्टी, उद्यमी व्यवसायी समेतको संलग्नतामा थालिएको रिले अनशनप्रति ऐक्यवद्धता प्रकट गर्दै संघले राखेका मागहरु तत्काल पुरा गर्न महासंघ नेपाल सरकारसंग आग्रह गर्दछ ।
महासंघ उक्त आक्रमणबाट घाइते हुनु भएका अग्रवालकी श्रीमती आशादेवी अग्रवाल एवं छिमेकी रमेश श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै अपहरणमा परी हालसम्म अवस्था अज्ञात रहेका महोत्तरी गौशालाका व्यवसायी श्याम गुप्ताको विना शर्त सकुशल रिहाइको लागि सम्बन्धित पक्षसंग हार्दिक आग्रह समेत गर्दछ ।
संविधानसभाको निर्वाचन पश्चात मुलुकमा ठूलो परिवर्तनको आशमा रहेका आम नेपाली नागरिकमा हालको राजनीतिक अस्थिरताबाट थप निराशा पैदा भएको र यही अस्थिरताको फाइदा उठाउदै मुलुकभित्र अराजक गतिविधिहरु बढ्दै गएको ठहर निजी क्षेत्रको छ । राजनीतिक सहमतीका माध्यमबाट जतिसक्दो छिटो विवादित विषयलाई टुंगोमा पुर्ΕΎयाई राज्यलाई एउटा स्पष्ट दिशामा अघि बढाउन अपिल गर्दै शान्ति सुरक्षाको फितलो अवस्थामा तत्काल सुधार गरि अपराधिक क्रियाकलापमा संलग्न हुनेलाई तत्कालै पक्राउ गरी कारवाही गर्न महासंघ सरकारसंग पुनः जोडदार माग गर्दछ । साथै घाइतेहरुको स्वास्थ्योपचार तथा जनधनको नोक्सानीको उचित क्षतिपूर्ति दिने व्यवस्था सहित तत्काल औद्योगिक सुरक्षा बल गठन गरी कार्यान्वयन गर्नका लागि महासंघ नेपाल सरकार तथा सम्पूर्ण राजनीतिक दलहरुसंग जोडदार आग्रह समेत गर्दछ ।