गैर कानूनी रुपमा सञ्चालन हुंदै आएको यातायात लगायत हरेक किसिमका सिण्डिकेट प्रथा (चक्र प्रणाली) तुरुन्त खारेजीको माग गर्दै देशका जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुले आ-आफ्नो जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी समक्ष आज ज्ञापन पत्र प्रस्तुत गरेका छन् ।
देशमा कुनै पनि एकाधिकार व्यवस्थालाई ऐन कानूनले नै वर्जित गरे अनुरुप यातायात लगायत सबै प्रकारका चक्र प्रणाली तथा आलोपालो वा सिण्डिकेट प्रथा कानूनबाट खारेज भएको धेरै समय भई सकेता पनि कैलालीको धनगढी लगायत सुदूरपश्चिमाञ्चल क्षेत्र र राप्ती अञ्चलमा सूचना केन्द्रको नाममा सञ्चालन हुंदै आएको ढुवानीमा चक्र प्रणालीका कारण त्यस क्षेत्रको उद्योग व्यापार व्यवसाय मात्र नभई उपभोक्ता एवं आम जनता महंगी र अभावको मारमा पर्न गएका छन् । त्यस क्षेत्रमा औषधि लगायत अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्नको समेत अभाव हुन गई आम जनता कष्टकर जीवन विताउन वाध्य हुन पुगेका छन् ।
त्यसैले सिण्डिकेट (चक्र प्रणाली) वा आलोपालो प्रणाली खारेजीको माग राख्दै उद्योग वाणिज्य संघहरुले सो ज्ञापन पत्र दिएका हुन ।