संयुक्त लगानी प्रबर्द्धन, प्रविधि हस्तान्तरण एवं निर्यात प्रबर्द्धनमा टेवा पुर्ΕΎयाउने क्रममा नेपाल उद्योग वाणिज्य महासंघद्वारा साउथ युरोप मिट्स साउथ एशिया (South Europe Meets South Asia = SEMSA)परियोजना अर्न्तर्गत आज विराटनगरमा एक गोष्ठी आयोजना गरियो ।
गोष्ठीको प्रारम्भमा मन्तव्य व्यक्त गर्नु हुंदै मोरंगका नि. अध्यक्ष अशोक मुरारका र द्वितीय उपाध्यक्ष शिव शंकर अग्रवालले महासंघद्वारा सञ्चालित उक्त परियोजना प्रभावकारी रुपमा कार्यान्वयन हुन सके नेपाल र दक्षिण एशिया तथा दक्षिण युरोप बीच संयुक्त लगानी एवं निर्यात एवं रोजगारी प्रबर्द्धन, प्रविधि हस्तान्तरण तथा गरिवी निवारणमा समेत सघाउ पुग्ने उल्लेख गर्नु भयो ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष अशोक ताम्राकारको उपस्थिति रहेको उक्त अवसरमा उद्योग संगठन मोरंगका तृतीय उपाध्यक्ष मुकेश उपाध्यायले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सूचना प्रविधि तथा खाद्य प्रशोधनसंग सम्बन्धित ३२ वटा कम्पनीका व्यवस्थापकहरुको सहभागिता रहेको उक्त गोष्ठीमा महासंघका वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डेले सो परियोजनाको उद्देश्य तथा कार्यक्रम वारे प्रस्तुतिकरण गर्नु भएको थियो ।
युरोपियन युनियनको एशिया लगानी कार्यक्रम अन्तरगत महासंघ र सिलोन चेम्बर अफ कमर्स (Ceylon Chamber of Commerce) श्रीलंकाको साझेदारीमा सूचना प्रविधि आवद्ध सेवाहरु एवं प्रशोधित खाद्य वस्तुसंग सम्बन्धित व्यवसायलाई नेपाल लगायत दक्षिण एशियाका तीन देश र दक्षिण यूरोपका चार वटा देशहरु बीच network गर्ने मुख्य उद्देश्यले सो परियोजना सञ्चालनमा ल्याईएको हो ।
दक्षिण यूरोपिय राष्ट्रहरु स्पेन, इटाली, ग्रीस र स्लोभानियामा सूचना प्रविधि तथा खाद्य प्रशोधन व्यवसायमा हासिल भएको उल्लेखनिय उपलव्धीलाई दक्षिण एशियाका राष्ट्रहरु नेपाल, वंगलादेश र श्रीलङ्काका सम्बन्धित व्यवसायीहरुसंग कार्यजालो स्थापित गरी बस्तु विकास (product development) बजार विस्तार र लगानी प्रबर्द्धनमा सो कार्यक्रमले महत्वपू्र्ण सघाउ पुग्ने अपेक्षा गरिएको छ ।