होटल, रेष्टुंरा लगायतका अतिथि सत्कारसंग सम्बन्धित व्यवसायका भान्छाहरुमा परिकारहरु तयार गर्दा त्यसको सुरक्षा तथा गुणस्तरमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ ।
खाद्य परिकारहरु तयार गर्नुपुर्व आवश्यक सामग्री भंडारण तथा जोरजामदेखि त्यसको तयारी गर्ने अवस्था र तयारी पश्चात अतिधिहरुसम्म सेवा दिंदाको अवधीसम्म पनि त्यसको उचित परिक्षण, रेखदेख तथा गुणस्तर लगायतमा विशेष ध्यान दिनुपर्ने कुरा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज ललितपुरमा आयोजित जोखिम विश्लेषण तथा यसको नियन्त्रण (Hazard Analysis and Critical Control Point) विषयक गोष्ठीका सहभागीहरुले सो विचार राख्नु भएको हो ।
विभिन्न होटल, रेष्टुंरा तथा अतिथि सत्कारसंग आवद्ध व्यवसायका २२ जना प्राविधिकहरुको सहभागितामा आयोजित सो कार्यक्रममा नेपाल खाद्य संस्थानका उपमहानिर्देशक जीवन प्रभा लामा, घरेलु तथा साना उद्योग विभागका निर्देशक कृष्ण प्रसाद खरेल र जोखिम विश्लेषण विज्ञ विकास पाण्डेले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले प्रतिस्पर्धाको जमानामा गुणस्तरीय सेवा प्रवाहबाट मात्र व्यवसायलाई अव्वल रुपमा अघि बढाउन सकिने हुंदा यस्ता कार्यक्रमहरु निकै महत्वपूर्ण हुने वताउनु भयो । परिकार तयारीका क्रममा थुप्रै कुराहरुमा विचार गर्नुपर्ने र यो निकै संवेदनशील विषय पनि भएकाले गुणस्तरसंग प्रत्यक्ष गांसिएका यस्ता कार्यक्रमहरु यस क्षेत्रमा आवद्ध जनशक्तिका लागि विशेष उपयोगी हुने धारणा राख्नु भयो ।
महासंघको उत्पादकत्व तथा गुणस्तर प्रवर्द्धन समितिका सभापति विजय बहादुर श्रेष्ठले खाद्य परिकारहरु तयारी पूर्व र तयारी पश्चात पनि गुणस्तर तथा यसको स्वच्छतामा विशेष ध्यान दिनु आवश्यक भएको र विशेष गरि अतिथि सत्कारसंग प्रत्यक्ष जोडिएका व्यवसायमा यसको महत्व निकै रहेकाले महासंघले यस्ता कार्यक्रमको आयोजनालाई प्राथमिकता दिएको बताउनु भयो । कार्यक्रममा समितिका सहसभापति दिनेश अधिकारीको पनि उपस्थिति रहेको थियो ।
सहभागीहरुले कार्यक्रम निकै लाभकारी भएको, खाद्यान्न परिकार तयारीका क्रममा अपनाउनु पर्ने तरिका, सुरक्षित खाद्यान्न भंडारण, भान्छाको सफाइ लगायतका विषयमा आफुहरुले धेरै कुराहरुको जानकारी पाएको यसलाई कार्यथलोमा प्रयोग गर्ने विश्वास दिलाएका थिए ।