उद्योग प्रतिष्ठानहरुमा औद्योगिक सुरक्षा वल गठनको व्यवस्था गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारमा पेश गरेको औद्योगिक सुरक्षा वल सम्बन्धी अवधारणालाई तत्काल अन्तिम रुप दिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
उद्योग प्रतिष्ठानहरुमा बढ्दो अशान्ति, आक्रमण, धम्की, अनेकन दवाव लगायतका समग्र औद्योगिक अशान्ति सहितका गतिविधिहरुलाई नियन्त्रण गरि शान्तिपर्ूण्ा वातावरणमा उद्योग व्यवसाय गर्ने वातावरण सृजनाका लागि निजी क्षेत्रले विगत लामो समयदेखि माग गर्दै आएको औद्योगिक सुरक्षा बल गठन सम्बन्धी मागले मर्ूत रुप नपाउंदा उद्योग व्यवसाय धरासायी बन्दै गएको, लगानी फिर्ता हुने वातावरण वन्दै गएको, थप लगानी विस्तार हुन नसकेको जस्ता जोखिमहरु बढ्दै गएकाले तत्काल औद्योगिक सुरक्षा वल गठन हुनुपर्ने कुरा महासंघमा आज आयोजित छलफल कार्यक्रमा जोड दिइएको हो ।
महासंघ र काठमाडौं स्कूल अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको उक्त छलफल कार्यक्रममा उक्त विद्यालयले संचालन गरेको औद्योगिक सुरक्षा वल सम्बन्धी कोर्स तथा निजी क्षेत्रले माग गर्दै आएको सुरक्षा वल गठनको माग सम्बन्धमा विस्तृत चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीहरुले औद्योगिक व्यवसायिक क्षेत्रमा प्रभावकारी औद्योगिक सुरक्षा संयन्त्र कसरी निर्माण गर्न सकिन्छ त्यसबारे माथि पनि विस्तृत छलफल भएको थियो ।
राजनीतिक रुपमा नेपालले ठूलो सफलता हासिल गरेपनि शान्ति सुरक्षाको अवस्था अझै पेचिलो बन्दै गएकाले निर्धक्कसाथ उद्योग व्यवसाय संचालन गर्न सक्ने वातावरण बन्न नसकेको, श्रंखलावद्ध रुपमा उद्योग व्यवसाय माथि आक्रमण हुंदा लगानीकर्ताहरुमा हतोत्साह बढ्दै गएकाले सरकारले तत्काल शान्ति सुरक्षाको अनुभूति दिलाउनु पर्ने कुरा सो अवसरमा जोड दिइयो ।
कार्यक्रममा सहभागीहरुले सुरक्षाको वर्तमान अवस्था अत्यन्त खस्कदो रहेकाले सुरक्षालाई सदृढ वनाउनु पर्ने, निजी क्षेत्रले माग गरेको सुरक्षा वल गठनको सम्बन्धमा सरकारको धारणा स्पष्ट रुपमा आउनु पर्ने, समग्र सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी पार्नु पर्ने, व्यवसायिक प्रतिष्ठान, उद्योग कलकारखाना, अस्पताल, होटल, शिक्षा क्षेत्रलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिएमात्र राष्ट्रकै सुरक्षा अवस्था सुदृढ हुने हुंदा सुरक्षा व्यवस्थालाई मजवुद वनाउनु पर्ने लगायतका सुझाव तथा धारणाहरु राखेका थिए ।
उक्त छलफल कार्यक्रमको प्रारम्भमा विषय प्रवेश गर्नुहुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले सुरक्षा वल गठन सम्बन्धी महासंघको मागले आजसम्म मूर्त रुप पाउन नसक्दा उद्योग व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले महासंघले सरकारमा पेश गरेको उक्त अवधारणालाई तत्काल अन्तिम रुप दिन आग्रह गर्नुभयो ।
अध्यक्ष जोशीले उद्योग प्रतिष्ठानसम्म काम गर्न जानसक्ने वातावरण नभएसम्म उद्योग व्यवसाय विस्तार, लगानीको सुरक्षा तथा थप लगानी तथा प्रविधि आकर्षा असम्भव भएकाले सुरक्षा वल गठनमा सरकार तथा निजी क्षेत्रको भूमिका तथा जिम्मेवारी स्पष्ट पारी अवधारणालाई अन्तिम रुप दिनु पर्ने बताउनु भयो ।
गृह मन्त्रालयका सहसचिव एकमणी नेपालले औद्योगिक सुरक्षा वल स्थापना सम्बन्धमा सरकार तथा निजी क्षेत्र एकमत भएपनि कुन मोडालिटीमा त्यसलाई लागु गर्ने भन्ने विषयले स्पष्टता पाउन नसक्दा त्यसले अन्तिम रुप पाउन समय लागेको बताउनु भयो । सहसचिव नेपालले औद्योगिक प्रतिष्ठानको स्थापनासंगै सुरक्षा वल गठनको विषयलाई पनि एक अंगको रुपमा विकास गरेर लैजानु पर्ने सुभाव समेत राख्नु भयो ।
सो अवसरमा औद्योगिक प्रतिष्ठानमा सुरक्षा जोखिम व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुंदै काठमाडौं विश्वविद्यालय औद्योगिक सुरक्षा वल व्यवस्थापन अध्ययन विभागका डा. गोविन्द थापाले सुरक्षाको अवस्था अत्यन्त खस्कदै गएको वर्तमान अवस्थामा सुरक्षा व्यवस्थालाई एकीकृत ढंगमा अघि बढाउनु पर्ने सुझाव राख्नु भयोे ।
वाहिरी सुरक्षा लगायत उद्योग प्रतिष्ठानहरुमा आन्तरिक रुपमा सुरक्षाको अभावबाट हुने जोखिमहरुलाई समेत न्यून गर्ने प्रकारको सुरक्षा व्यवस्थालाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिंदै उहांले सुरक्षाको ग्यारेन्टी राज्यले मात्र गर्छ भन्ने सोचाईमा परिवर्तन गरि सरोकारवालाहरुले सुरक्षा संयन्त्र निर्माणमा लाग्नुपर्ने सुझाव राख्नु भयो । उक्त विश्वविद्यालयका डिन सुभाष केसीले निजी क्षेत्रले उद्योग प्रतिष्ठान वरिपरिको मात्र सुरक्षा खोजेको होकी त्यसको व्यवस्थापकिय सुरक्षा समेत खोजेको त्यो स्पष्ट हुनुपर्ने सुझाव राख्नु भयो ।
कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, नेपाल प्रहरीका विशिष्ट अधिकृतहरु, सरकारी अधिकृतहरु, महासंघका सदस्य संघ संस्थाका पदाधिकारी तथा उद्योगी व्यवसायीहरु एवं महासंघका महानिर्देशक पनि सहभागिता रहेको थियो ।