लगानी तथा रोजगारीका हिसावले करिव ८० प्रतिशत हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको विकासबाट मात्र मुलुक भित्र आर्थिक क्रान्तिको अभियानलाई सफल पार्न सकिने हुंदा यस क्षेत्रको वृहत्तर विकासका लागि नीतिगत सुधार, कर्जा प्रवाहमा सरलीकरण, बैंक तथा वित्तिय संस्थाहरुको कार्यशैली र लगानी नीतिमा सुधार आवश्यक भएको कुरामा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघद्वारा घरेलु तथा साना उद्योग प्रवर्द्धन विषयमा हालै काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिइएको हो । लघु घरेलु तथा साना उद्योग व्यवसायको विकासबाट सिमान्त वर्गहरुलाई बढी समावेश गर्न सकिने र यसले आर्थिक विकासको लक्ष्य हासिल गर्न समेत सहयोग पुग्ने हुंदा सरकारले समय सापेक्ष रुपमा नीतिगत सुधार, सहयोग, सहुलियत एवं संरक्षणका कार्यक्रमहरु इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।
नेउवामहासंघबाट घरेलु तथा साना उद्योगको विकासका लागि आगामी कार्ययोजना तर्जुमा गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उद्यमीहरु, यस क्षेत्रमा काम गर्ने विभिन्न दातृ संस्था सहित विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु, नेपाल सरकार घरेलु तथा साना उद्योग विभाग, घरेलु तथा साना उद्योग विकास समितिका पदाधिकारीहरुको सहभागीतामा रहेको थियो । कार्यक्रममा लघु घरेलु तथा साना उद्योगका लागि कर छुटको व्यवस्था, दीगो एवं स्थायी नीति नियमको कार्यान्वयन, घरेलु तथा साना उद्योग विकास कोषको प्रभावकारी परिचालन लगायतका विषयमा विशेष जोड दिइएको थियो ।
त्यसैगरी लघु, घरेलु तथा साना उद्योगको विकासका लागि राष्ट्रिय/अन्तराष्ट्रिय बजार विस्तार, लक्षित वर्गको पहिचान सहित ग्रामीण क्षेत्रमा तालीम कार्यक्रमहरु लैजानुपर्ने, मागको पहिचान गरि विक्री योग्य वस्तुहरुको मात्र उत्पादन गर्नुपर्ने, साना र ठूला उद्योग बीचको अन्तर सम्बन्ध विकास गर्नुपर्ने, ग्रामीण क्षेत्रमा लघु घरेलु उद्योग र पूर्वाधार भएका शहरी क्षेत्रमा साना र ठूला उद्योगहरु विकास गरी लघु, घरेलु उद्योगले तयार गरेका सामग्रीहरु ठूला उद्योगहरुले खपत गर्ने नीति ल्याउनु पर्ने सुझाव पनि सहभागीहरुले राखेका थिए ।
सो कार्यक्रममा महासंघका अध्यक्ष कुशकुमार जोशीले अधिकांश उद्योग व्यवसाय घरेलु सानास्तरकै रहेको पर्रि्रेक्षमा यस्ता उद्योगहरुलाई विभिन्न दृष्टिकोणबाट सक्षम बनाउनु पर्नेमा जोड दिनुंहुंदै स्थानीय स्रोतका आधारमा उद्यम पहिचान गरि प्रविधि तथा जनशक्ति विकास सहित अघि बढ्नु पर्ने खांचो औल्याउनु भयो । अध्यक्ष जोशीले हस्तकलाका सामानहरु नेपालको "नीस प्रोडक्टस" भएकाले अन्तराष्ट्रिय वजारको माग अनुरुप डिजाइन, गुणस्तर र संख्यात्मक हिसावले समेत यस्ता उत्पादनहरुको विकास गर्नुपर्ने र महासंघले अघि बढाएको एक गाउं एक उत्पादन कार्यक्रम अन्तरगत यसलाई विकास गरेर लैजाने पनि जानकारी गराउनु भयो ।
महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले भारत तथा चीनको बीचमा रहेको नेपालले ठूला उद्योगहरुमा प्रतिस्पर्धा गरेर जान नसक्ने हुंदा लघु घरेलु तथा साना उद्योगको विकास मार्फत अघि बढ्दा त्यसबाट लाभ उठाउन सकिने धारणा राख्नु भयो । उहांले यसका लागि ती देशहरुमा स्थापना हुने ठूला उद्योगहरुका लागि सहयोगी हुन सक्ने साना उद्योगहरुको स्थापनामा जोड दिनुपर्ने सुझाव राख्दै यस विषयमा छिमेकी मुलुक भारतसंग पनि छलफल गरिने बताउनु भयो ।
घरेलु तथा साना उद्योग विभागका महानिर्देशक महेन्द्रमान गुरुङले मुलुकको वृहत्तर आर्थिक विकासका लागि घरेलु तथा साना उद्योग विकासनै एकमात्र उत्तम उपाय भएकोले यसको पर््रवर्द्धनका लागि सामूहिक प्रयासको खांचो औल्याउनु भयो ।
सभापतिको आशनबाट महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डी.वी वस्नेतले मुलुकमा घरेलु तथा साना उद्योग व्यवसायको क्षेत्रमा रहेको विद्यमान सिथिलता र नैराश्यताको अन्त्य गर्न सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायहरुले समय सापेक्ष रुपमा नीतिगत र कार्यगत सुधारहरु गर्नुपर्नेमा जोड दिनु भयो ।
महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डेले स्थानीय जनताको आर्थिक जीवनस्तर सुधार सहित अर्थतन्त्रको विकासमा घरेलु तथा साना उद्योगको महत्व माथि प्रकाश पार्दै यस क्षेत्रमा भएका अध्ययनहरुले दिएका सुझावहरुको हालसम्मको कार्यान्वयनको अनुगमन हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा घरेलु तथा साना उद्योग समितिका सह-सभापति अमरराज आचार्यको पनि उपस्थिति थियो ।
सो अवसरमा नेपाल हस्तकला महासंघको वारे संक्षिप्त प्रकाश पर्दै सो महासंघका अध्यक्ष पुष्करमान शाक्य र प्रथम उपाध्यक्ष विकासरत्न धाख्वाले तल्लोतहका जनतासम्म हस्तकलाको महत्व वुझाउनु पर्ने खांचो औल्याउनु भयो । यसो भएमा मात्र घरेलु तथा साना उद्योगको विस्तार गर्न सकिन्छ, रोजगारी सृजना भई गरिवी निवारणमा मद्दत पुग्ने धारणा राख्दै निष्कृय वन्न पुगेको घरेलु तथा साना उद्योग विकास कोषकोलाई प्रभावकारी रुपमा संचालन गरि त्यसबाट अधिकतम लाभ उठाउनु पर्नेमा जोड दिनु भयो ।