नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क) मा व्यवस्था भए बमोजिम कार्यकारिणी समितिको निर्णयअनुसार महासंघका भूतपूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा सात सदस्यीय अनुशासन समिति गठन गरिएको छ ।
विधान अनुसार सो समितिको काम, कर्तव्य तथा अधिकार यस प्रकार छः
क) महासंघको विधान नियमावली तथा आचार संहिताको पालना नगरेको वा सो विपरित कुनै कार्य गरेको भनी कार्यकारिणी समितिका पदाधिकारीहरु, सदस्यहरु तथा सदस्य संघहरु उपर उजुरी पर्न आएमा सो उजुरी उपर छानविन गर्ने ।
ख) छानविन गर्ने प्रयोजनका लागि आरोप लागेका व्यक्तिलाई आफु समक्ष झिकाई सोधपुछ गर्ने, बयान लिने, प्रमाण संकलन गर्ने तथा स्पष्टिकरण सोध्ने ।
ग) आफू समक्ष पर्न आएका उजुरीका सम्बन्धमा छानविन गरी ठोस राय सहितको प्रतिवेदन कार्यकारिणी समितिमा प्रस्तुत गर्ने ।
समितिले आफ्ना अन्य कार्य प्रणाली आफै व्यवस्थित गर्ने छ ।
सो समितिका अन्य सदस्यहरुमा महासंघका भूतपूर्व अध्यक्ष बिनोद बहादुर श्रेष्ठ, उपाध्यक्ष त्रय कृष्ण प्रसाद ताम्राकार, भाष्करराज राजकर्णिकार तथा प्रदीपजंग पाण्डे, संस्थागत सामाजिक दायित्व फोरमका संयोजक एवं कार्यकारिणी समितिका सदस्य उमेशलाल श्रेष्ठ र आर.वि. एस. कन्सल्टेन्सीका राजेन्द्र बहादुर श्रेष्ठ हुनुहुन्छ ।
सो समितिबाट आफ्नो उद्देश्य पूर्ति गर्ने कार्य अघि बढाउन महासंघले उपयोगी सल्लाह प्राप्त हुने विश्वास लिएको छ ।
स्मरणीय छ, सभापति भूतपूर्व अध्यक्ष श्रेष्ठ यस अघि २०६२-६४ को अवधिमा महासंघका विशिष्ट सदस्य हुनुका साथै बेलायत सरकारको डि.एफ.आई.डि. (DFID) को सहयोगमा महासंघद्वारा सञ्चालित भ्रष्टाचार विरुद्धको परियोजना सञ्चालक समिति (Anti Corruption Project Steering Committee) का सहसभापति समेत भई कार्य गरी सक्नु भएको पृष्ठभूमिमा महासंघको भ्रष्टाचार नियन्त्रण एवं संस्थागत सामाजिक दायित्व (CSR) संग सम्बन्धित कार्यहरुलाई समन्वयात्मक रुपमा अघि बढाउन समेत उक्त समितिले सहयोगी (Facilitator) को रुपमा कार्य गर्ने कार्यक्रम छ ।