मध्यमाञ्चल विकास क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम, कृषि, कला, संस्कृति तथा साहित्य आदिको विकास तथा प्रबर्द्धन गर्ने प्रमुख उद्देश्यले यही कार्तिक २७ देखि मसिर ६ गते सम्म रौतहट उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति रौतहट, गौर नगरपालिका, उद्योग मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मध्यमाञ्चल महोत्सव २०६५ आयोजना गरिने भएको छ । सो महोत्सवको प्रबर्द्धनमा नेपाल पर्यटन बोर्ड, कृषि व्यवसाय प्रबर्द्धन कार्यक्रम र लघु उद्यम विकास कार्यक्रम रहेका छन् ।
उक्त महोत्सव सम्बन्धमा जानकारी गराउन महासंघमा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न प्राकृति, धार्मिक एवं सांस्कृतिक सम्पदाका साथै पर्यटन प्रबर्द्धन विकासको बलियो सम्भावना बोकेको रौतहटमा सञ्चालन हुने उक्त बृहद महोत्सव तथा प्रदर्शनीमा मध्यमाञ्चल क्षेत्र लगायत देशका विभिन्न कुनाबाट व्यापारिक कम्पनीहरु, वितरक र उपभोक्ताहरुलाई एउटै मञ्चमा भेटघाट र व्यवसाय प्रबर्द्धनको राम्रो अवसर प्राप्त हुने बताइयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले औद्योगिक व्यापार मेला, महोत्सव एवं प्रदर्शनीले उपभोक्ताको चाहना अनुरुप उत्पादन र सेवालाई विविधिकरण गर्नुका साथै गुणस्तर सुधारका लागि समेत सघाउ पुर्žयाउने, उत्पादन र सेवा लगायतका आर्थिक क्रियाकलाप विस्तार भई रोजगारी प्रबर्द्धन, औद्योगिक व्यवसायिक सर्म्पर्क विस्तार एवं बजार प्रबर्द्धन तथा गरिवी निवारणमा समेत सघाउ पुर्žयाउन सक्ने हुंदा महासंघले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत त्यस्ता कार्यक्रमलाई प्रोत्साहित गर्दै आएको बताउनु भयो ।
देशका विभिन्न जिल्लाका औद्योगिक व्यवसायिक संभाव्यता एवं शीप र जागर मेला महोत्वबाट उजार भई बहुपक्षीय लाभ प्राप्त हुने हुंदा क्षेत्रीय एवं जिल्ला स्तरमा मेला महोत्सव आयोजनालाई निरन्तरता एवं व्यापकता दिदैं आएको पनि उहांले बताउनु भयो ।
महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले विगतको द्वन्दका बेला समेत महासंघले सदस्य संघ लगायत विभिन्न निकायको सहयोग र सहभागितामा वाषिर्क २० देखि ५० वटासम्म मेला महोत्सव आयोजना गर्दै आएको जानकारी दिनु हुदै यस आर्थिक वर्षपनि विभिन्न क्षेत्र र जिल्लामा गरि २ दर्जन भन्दा बढी संख्यामा आयोजना गरिने बताउनु भयो ।
मेला महोत्सवको आयोजनाबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने हुंदा नेपाल पर्यटन बोर्ड मार्फत देशका विभिन्न भागमा मेला महोत्सव गरी पर्यटकीय स्थलहरुको विकासका साथै आर्थिक, सामाजिक मात्र नभई कला र संस्कृतिको विकासमा समेत मद्दत पुग्नेमा पनि उपाध्यक्ष राजकणिर्कारले जोड दिनु भयो ।
दुई सय स्टलहरु राखिने उक्त महोत्सव अवधि भर ३ करोड रुपैयां वरावरको बिक्री वितरणको अपेक्षा १ लाख व्यक्तिहरुले सहभागिता रहने अनुमान गरिएको सो बृहद महोत्सव तथा प्रदर्शनीलाई अझ रोचक तथा आकर्षण बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक खेलहरु तथा फूड फेस्टिभल समेत आयोजना गरिने जानकारी समेत सो अवसरमा दिईयो । प्रदर्शनी स्थल सूचना तथा सञ्चार, प्राविधिक सेवा, मर्मत सम्भार र चौविसै घण्टा सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।
महासंघको व्यापार मेला तथा प्रदर्शनी समितिका सभापति ए.जी. शेर्पाले मेला र महोत्सव बारे चर्चा गर्नु भएको उक्त कार्यक्रममा सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, कार्यकारिणी समितिका सदस्य एवं महाकाली अञ्चल प्रतिनिधि प्रकाश बहादुर साउदले मेला महोत्सव वारे प्रकाश पार्नु भयो । रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष देव प्रयाग गुप्ताले उक्त मेला सम्बन्धमा विस्तृत जानकारी दिनु भएको थियो ।