नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र उपाध्यक्ष प्रदीपजंग पाण्डे तथा नेपालका लागि अष्ट्रेलियन राजदूत ग्रेम लेद b (Graeme Lade) बीच महासंघको सचिवालयमा आज भएको भेटघाट बैठकमा दुई देश बीच व्यापार, लगानी, पर्यटन प्रबर्द्धन लगायत अन्य आर्थिक सम्बन्ध विस्तारका विविध पक्षमा विस्तृत छलफल भयो ।
उक्त बैठकमा महासंघका अध्यक्ष जोशीले अष्ट्रेलियासंग नेपालको व्यापार घाटा वर्षेनी बढ्दै गएको तथा नयां नेपाल निर्माण तथा आर्थिक क्रान्तिको थालनीसंगै बदलिंदो परिवेशमा अष्ट्रेलियाली लगानी एवं पर्यटन प्रवाहका लागि कुटनीतिक माध्यमबाट समेत पहल गर्न अष्ट्रेलियाली राजदूतलाई आग्रह गर्नु भयो ।
त्यसैगरी महासंघका अध्यक्ष जोशीले महासंघको २० वर्षो भिजन तथा सरकारको भिजन र नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु वारे प्रकाश पार्नुका साथै अष्ट्रेलियाको लागि नयां दिल्लीबाट मात्र भिसा लिनु पर्ने व्यवस्थाले नेपालीहरुलाई अत्यन्त ठूलो कठिनाई परेकोले नेपालबाटै भिसा दिने व्यवस्थाको लागि पहल गर्न समेत राजदूत ग्रेम लेदसंग जोडदार आग्रह गर्नु भयो ।
नेपाल-अष्ट्रेलिया उद्योग वाणिज्य संघ (Nepal Australia Chamber of Commerce and Industry =NACCI) का कार्यवाहक अध्यक्ष एवं नेपाल समुद्रपार निकासी पैठारी संघका निवर्तमान अध्यक्ष अखिल कुमार चापागाई तथा एनएसीसीआईका कार्यकारिणी समिति सदस्य रमेश कुमार खेतान, नयां दिल्ली स्थित अष्ट्रेलियन उच्चायुक्त कार्यालय (Australian High Commission) का व्यापार आयुक्त (Trade Commissioner) मिखाएल कार्टर {/ (Michael Carter) र महासंघका महानिर्देशक मेघनाथ न्यौपाने समेतको उपस्थिति रहेको उक्त बैठकमा भएको छलफलमा नेपालको उच्च शिक्षा लगायत प्राविधिक एवं व्यवसायिक शिक्षाको क्षेत्रमा लगानीका साथै नेपालमा अष्ट्रेलियाबाट पेय पदार्थको बढ्दो आयातको सर्न्दर्भमा अष्ट्रेलियन प्रविधि हस्तान्तरण गरी नेपालमै उत्पादन गर्न सकेमा पनि दुवै देश लाभान्वित हुनेमा नेपाली पक्ष्ँले जोड दिएको छ ।
सो अवसरमा राजदूत लेदले नेपालसंग आर्थिक सम्बन्ध विस्तार लगायत समस्या समाधानका लागि सकारात्मक रुपमा पहल गर्ने आश्वासन दिनु भयो ।
नेपाल र अष्ट्रेलिया बीचको व्यापारिक आयतनलाई दृष्टिगत गर्दा आ.व. २०६३।६४ मा नेपालबाट अष्ट्रेलिया तर्फ २० करोड ९० लाख ४६ हजार रुपैयां वरावरको निर्यात र एक अर्व ८५ करोड ४७ लाख ३३ हजार रुपैयां वरावरको आयात भएको थियो । जुन तथ्याङ्क क्रमशः कूल निर्यातको ०.३४ र कूल आयातको ०.९७ प्रतिशत रहेको छ ।
प्रमुख निर्यात बस्तुहरुमा चिया, सुगन्धित तेल, हस्तकला, उनी गलैंचा, कपडा तथा तयारी पोशाक, गरगहना, काठका सामान आदि छन भने प्रमुख आयातित बस्तुहरुमा भेडा, दुध तथा मखन, तरकारी, फलफूल तथा विऊ, चिल्लो पदार्थ, पेय पदार्थ, औषधि, सुगन्धित तेल, रासायनिक पदार्थ, प्लाष्टिक आदि छन् ।
पर्यटक प्रवाह तर्फ सन् २००६ मा ८२३१ र सन् २००७ मा ११७३५ अष्ट्रेलियाली पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए, जुन संख्या कूल पर्यटक संख्याको २.१ र २.२ प्रतिशत पर्दछ ।
त्यसैगरी अष्ट्रियालीको संयुक्त लगानीमा नेपालमा तालीम र शिक्षा सम्बन्धी ३ वटा र हेलिकोप्टर सेवा सम्बन्धी एउटा परियोजना सञ्चालित छन् भने अटो वर्कसप र ग्यांस सम्बन्धी एउटा र कफि रोपण तथा प्रशोधन सम्बन्धी एउटा परियोजनाले इजाजत प्राप्त गरेको एवं होटल, जलविद्युत, भाषा तालीम र कम्प्यूटर सफ्टवेयर सम्बन्धी एक/एक वटाले स्वीकृति प्राप्त गरेका छन् ।