गुण (Quality) को महत्व, व्यापकता र विशिष्ठतालाई बढावा दिनुको साथै यसलाई प्रोत्साहित गर्दै जाने क्रममा अन्तर्राष्ट्रिय “गुण समूदाय” (Quality Community) ले नोभेम्बर १३ को दिनलाई प्रत्येक वर्ष विश्व गुण दिवस World Quality Day का रुपमा मनाउंदै आएको छ। सोही क्रममा नेपालमा पहिलो पटक “विश्व गुण दिवस” मनाइयो। सो अवसरमा उद्योग मन्त्रालयका सचिब ताना गौतमले उद्योग मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको उत्पादकत्व तथा गुणस्तर समितिद्वारा संयुक्त रुपमा महासंघमा आयोजित ८ दिने कार्यशाला (Workshop on Quality Facilitators Development) को उद्घाटन एवं महासंघको सोही समितिद्वारा प्रकाशित “प्रोडक्टिभिटि एण्ड क्वालिटि” पत्रिकाको पहिलो अंकको विमोचन गर्नु हुंदै गुण जागरणमा निजी क्षेत्रको सक्रियताको सराहना गर्दै उपभोक्ताले कुनै पनि बस्तु र सेवाबाट मूल्य अनुसारको सन्तुष्टि पाउनुको साथै बस्तु र सेवा गुणयुक्त, सहज र समयबद्ध हुनु पर्नेमा जोड दिनु भयो।
साथै उत्पादन र सेवाको नियमित मूल्याङ्कन तथा अनुगमन हुनु पर्ने धारणा व्यक्त गर्नु हुंदै एशियाली उत्पादकत्व संगठन (APO) लगायत स्वदेशी तथा विदेशी संघ/संस्था एवं निकायद्वारा सञ्चालित गुण सम्बन्धी कार्यक्रमहरुबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्नु पर्ने उल्लेख गर्दै सरकारले पनि गुण अभिबृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो।
महासंघका अध्यक्ष कुशकुमार जोशीले देशको आवश्यकता अनुसारको औद्योगिकरणका लागि गुण अत्यन्त आवश्यक तत्व भएको उल्लेख गर्नु हुंदै उत्पादन र सेवाको क्षेत्रमा गुण अपरिहार्य संस्कृति हो र यसको अभावमा उपभोक्ता सन्तुष्टि नहुने हुंदा कुनै पनि व्यवसाय सफल नहुने धारणा व्यक्त गर्नु भयो।
युरोप, अमेरिका, जापान, जर्मन आदि विकसित मुलुकमा गुणलाई ज्यादैनै महत्व दिइएकोलेनै ती देशका उत्पादन र सेवा प्रति विश्वका उपभोक्ताको चाहना र आकर्षण बढेको हुंदा नेपाली उत्पादन र सेवा प्रति पनि “नेपाली ब्राण्ड” Nepali Brand को रुपमा विश्व बजारमा आकर्षण बढाउनु आवश्यक भएकोमा जोड दिनु भयो।
साथै उहांले नेपालका छिमेकी मुलुकका साथै मलेशिया, मौरिसस लगायतका मुलुकमा गुण अभिबृद्धिका लागि सरकारी तथा निजी क्षेत्रबाट भएका योगदान र प्रयास वारे चर्चा गर्नु हुंदै औद्योगिक व्यवसायिक नीति निर्माणमा समेत गुण अभिबृद्धिलाई प्राथमिकता दिनु पर्ने र उद्योग मन्त्रालयमा गुण सम्बन्धी छुट्टै इकाई (Quality Cell) गठन गर्नु पर्ने माग गर्नु भयो।
महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सभापति बिजय बहादुर श्रेष्ठले महासंघको प्रयासले मात्र गुण अभिबृद्धि नहुने हुंदा यसका लागि सबै क्षेत्र र पक्षको सक्रियता आवश्यक पर्ने उल्लेख गर्नु हुंदै नेपाली उत्पादन र सेवा अन्तर्राष्ट्रिय बजार योग्य बनाउन गुण अभिबृद्धि अत्यन्त आवश्यक भएको बताउनु भयो।
महासंघको उत्पादकत्व तथा गुणस्तर समितिका सहसभापति दिलिप अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा उद्योग मन्त्रालयका अर्थशास्त्री डा. दुर्गेश कुमार श्रेष्ठले कार्यशालाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो।
उत्पादन र सेवाको क्षेत्रमा गुण व्यवस्थापन र अभिबृद्धिका विविध पक्षमा विस्तृत छलफल एवं विचार विमर्श हुने उक्त कार्यशालामा सरकारी तथा निजी क्षेत्रका उत्पादन र सेवा सम्बन्धी संघ/संस्था एवं निकायका ३५ जनाको सहभागिता रहेको छ।
यस वर्ष सन् २००८ को गुण दिवस “गुणको सीमा हुंदैन” (QUALITY HAS NO BORDERS) भन्ने मूल नारा सहित विश्वभर मनाईदै छ।
सो दिवसको प्रमुख उद्देश्य विश्वभर व्यक्तिगत एवं संस्थागत रुपमा गुणमा सुधार ल्याउनु र गुणको उपयोग विस्तार एवं प्रबर्द्धन गर्नु रहेको छ। गुण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था वर्ल्ड एलायन्स फर क्वालिटि (World Alliance for Quality – WAQ) ले विश्व गुण दिवसलाई प्रथम पटक नयां ढंगले मनाउंदैछ।
सो दिवसका अवसरमा विश्वका ७० भन्दा बढी मुलुकका गुणसंग सम्बन्धित संस्था (National Quality Organizations) हरुले क्वालिटि सम्बन्धी सम्मेलन, गोष्ठी लगायत विभिन्न कार्यक्रमहरु आयोजना गंदै आएका छन्।
अमेरिका, यूरोप तथा जापान लगायतका एशियाली मुलुकहरुमा गुण सम्बन्धी संस्था धेरै वर्ष अघि स्थापना भएतापनि सोको प्रभावकारी कार्यान्वयन सन् २००८ को मे महिनामा संयुक्त राज्य अमेरिकामा ऐतिहासिक रुपमा आयोजित विश्व गुण सम्मेलन (Global Quality Summit) बाट मात्र प्रारम्भ भएको हो।
गुण सबै वर्ग र क्षेत्र, हरेक व्यक्ति र समाज एवं हरेक कार्यमा अत्यन्त उपयोगि भएकोले यसको प्रबर्द्धनका लागि सबै क्षेत्रको सहयोग एवं जागरुकता महत्वपूर्ण हुने छ।