नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले जस्तो सुकै कठिन अवस्थामा पनि महासंघले राष्ट्रको अर्थतन्त्रलाई जीवन्त राख्न मेला/महोत्सवको आयोजना गर्दै आएको र यसले स्थानीय आर्थिक गतिविधिलाई सशक्त पार्न र आर्थिक क्रियाकलापलाई बढावा दिन निकै ठूलो योगदान पुर्याएको बताउनु भएको छ ।
अध्यक्ष जोशीले यही मंसिर १२ देखि २२ गतेसम्म पोखरामा आयोजना गरिन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला-२०६५ का विषयमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुंदै सो कुरा बताउनु भएको हो ।
उद्योग व्यापार मेलाले उद्योग व्यापारको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने, क्रेता, विक्रेता तथा यस क्षेत्रका अनुसन्धानदातालाई समेत थप नयां वस्तुको सृजना गर्न समेत मद्दत गर्ने हुंदा महासंघले यस्ता महोत्सवलाई निरन्तरता दिंदै आएको पनि स्पष्ट पार्नुभयो । मेला महोत्सवले वस्तुको बजार प्रवर्द्धन, गुणस्तर सुधारका साथै प्रतिस्पर्धी क्षमता विकासमा समेत मद्दत पुर्याउने दावी उहांको थियो ।
राष्ट्रिय अर्थतन्त्रको विकासमा निरन्तर लागि रहेका उद्योगी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेकोमा सरकारप्रति गुनासो गर्नुहुंदै अध्यक्ष जोशीले अहिले पनि शान्ति सुरक्षाको अवस्था दयनीय रहेको, तर्राई क्षेत्रमा उद्योग व्यवसाय गर्ने अवस्था हुन नसकेको, सिण्डिकेट, न्यूनतम वेतन एवं श्रम समस्याका कारण निजी क्षेत्र थप हतोत्साहीत हुंदै गएको बताउनु भयो ।
अध्यक्ष जोशीले आर्थिक विकास विना "नयां नेपाल"को सपना साकार हुन नसक्ने हुंदा सरकारले आफनो तर्फाट निजी क्षेत्रलाई विश्वासमा लिएर जानुपर्ने बताउनु भयो ।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले मेला महोत्सवले अर्थतन्त्रको विकासमा "रक्त संचार" गर्ने वताउनु भयो । उहांले महासंघका सदस्य संघ/संस्थाहरुले द्वन्दका बेला समेत विभिन्न स्तरमा मेला/महोत्सवको आयोजना मार्फ अर्थतन्त्रलाई जीवन्त राख्न गरेको योगदानको सराहना सहित आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा पनि गर्नु भयो ।
महासंघका पूर्व उपाध्यक्ष एवं पोखरा उवासंघका पूर्व अध्यक्ष आजाद श्रेष्ठको समेत उपस्थिति रहेको सो कार्यक्रममा मेलाको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य वैंक, पोखरा स्थित क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रवन्धक प्रदीपकुमार उपाध्यायले मेलाको प्रायोजन गरी निजी क्षेत्रसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै वैंकले मेला अवधिभर वैंकसंग कारोवार गर्नेलाई विशेष सुविधाको घोषणा गरेको जानकारी समेत गराउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ समेतको संलग्नतामा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सरकारी तथा स्थानीय संघ/संस्थाहरुको सक्रिय सहभागितामा आयोजना गर्न लागेको सो मेलाका विषयमा संघका अध्यक्ष्ँ मानकाजी माकाजुले प्रकाश पार्नु भएको थियो ।
संघका निवर्तमान अध्यक्ष दिपक श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा संघका पू्र्व अध्यक्षहरुको समेत सहभागिता थियो ।
संघका महासचिब कृष्णमोहन श्रेष्ठले उक्त कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको निवारण गर्नु भएको थियो ।