दक्षिण एशियाका नेपाल, बंगलादेश र श्रीलंका तथा युरोपको स्पेन, ग्रिस, इटाली र स्लोभानियाका सूचना प्रविधि तथा यससंग सम्बन्धित एवं खाद्य प्रशोधन (Information Technology and Information Technology Enabled Services and Processed Food) सम्बन्धी छानिएका कम्पनीहरु बीच आगामी सन् २००९ को फेब्रुअरीमा श्रीलंकाको कोलम्बोमा हुने दुई दिने व्यवसायिक सम्पर्क (Match Making) कार्यक्रममा नेपालको तर्फबाट सहभागिताको तयारीलाई नेपाल उद्योग वाणिज्य महासंघले अन्तिम चरणमा पुर्याएको छ ।
युरोपिय युनियन (EU) को एशियामा लगानी कार्यक्रम अर्न्तर्गत महासंघ र द सिलोन चेम्बर अफ कमर्स (The Ceylon Chamber of Commerce) बीच गत मार्चमा भएको सम्झौता अनुरुप युरोपिय आयोग (EC) समेतको सहभागितामा महासंघमा "साउथ युरोप मिट्स साउथ एशिया" (South Europe Meets South Asia - SEMSA) परियोजना सञ्चालन भई उक्त कार्यक्रमको तयारी गरिएको हो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य उक्त दुई उपक्षेत्रका व्यवसायमा उपरोक्त देशका व्यवसायीहरु बीच प्राविधिक, संयुक्त लगानी एवं द्विपक्षीय व्यापारिक संजाल र सहभागिता प्रबर्द्धन गर्नु रहेको छ । उक्त कार्यक्रममा नेपाल र बंगलादेशबाट ३०/३०, श्रीलंकाबाट ६० एवं युरोपबाट ६० वटा कम्पनीको सहभागिता रहने अपेक्षा गरिएको छ ।
संयुक्त लगानी प्रबर्द्धन, नयाँ/नयाँ प्रविधिको हस्तान्तरण एवं रोजगारी तथा निर्यात प्रबर्द्धनलाई टेवा पुग्न सक्ने उक्त कार्यक्रमलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघले लक्षित समूह (Target Group) अन्तरगतका उद्योगी व्यवसायीहरुसंग समन्वय गरी विद्यमान सम्भावित उद्योग/कम्पनीहरुको सर्वेक्षण एवं तथ्याङ्क संकलन गर्नुका साथै कार्यक्रममा भाग लिने कम्पनीहरुको छनौट गरी अन्तरक्रिया गर्दै रहेको छ ।
सोही क्रममा महासंघद्वारा हिजो काठमाडौंमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्नु हुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले श्रीलंकामा हुने सो कार्यक्रम नेपालमा बैदेशिक लगानी र प्रविधि आकषिर्त गर्नुका साथै एशियाली र युरोपिय मुलुकहरु बीच द्विपक्षीय व्यापारिक संजाल निर्माण गर्न महत्वपूर्ण अवसर हुने भएकोले कार्यक्रममा प्रभावकारी रुपमा सक्रियतापूर्वक भाग लिन सम्बन्धित कम्पनीहरुलाई आग्रह गर्नु भयो ।
साथै उहांले नेपाली उत्पादनलाई गुणस्तरीयताका साथै अन्तर्राष्ट्रिय बजारको चाहना र माग बमोजिम परिमार्जन गर्दै "नेपाली ब्राण्ड" का रुपमा विकसित गर्दै जानु पर्नेमा जोड दिनु हुंदै यसका लागि नेपालमा शान्ति र सुरक्षाको प्रत्याभूति सहित अनुकूल औद्योगिक व्यवसायिक वातावरण हुनु पर्ने उल्लेख गर्नु भयो ।
साथै उहांले नेपालमा लगानी तथा पर्यटन प्रबर्द्धनका साथै व्यापार विस्तार गर्ने उद्देश्यले कोलम्बोमा हुने उक्त कार्यक्रमको अवसर पारी महासंघले नेपाली औद्योगिक व्यवसायिक प्रतिनिधिमण्डल श्रीलंका लाने सोच गर्दै रहेको पनि बताउनु भयो ।
महासंघको सूचना सञ्चार तथा प्रविधि विकास समितिका सहसभापति विप्लवमान सिंह समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा महासंघ वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डेले उक्त कार्यक्रममा सहभागिताको तयारी सम्बन्धमा प्रकाश पार्नु भएको थियो भने छानिएका कम्पनीका व्यवस्थापक/ प्रतिनिधिहरुले आ-आफ्नो कम्पनीको लक्ष र कार्यक्रम सम्बन्धमा जानकारी दिनु भएको थियो ।