नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले विभिन्न समूदाय वा संस्थाले आफ्नो माग पूरा गराउन बन्द र हड्तालको सहारा लिने पुरानो परम्परा कायमै रहेकोले संविधान समयमै बन्न कठिन हुने हुंदा यस्ता गतिविधिको अन्त गर्नु पर्ने बताउनु भएको छ ।
उक्त कुरा तेह्रथुम उद्योग वाणिज्य संघको नवनिर्मित भवन उद्घाटनका क्रममा हिजो म्याङलुङ्गमा आयोजित समारोहमा अध्यक्ष जोशीले बताउनु भएको हो । बन्द, हड्ताल, चक्काजाम जस्ता गतिविधिले गर्दा उद्योगी व्यवसायी निराश बनेको भन्दै राज्यले नयां नीति अगाडी नल्याए राज्यको आय श्रोत समेत घट्दै जाने निश्चित भएको उल्लेख गर्नु भयो ।
यसैगरी अध्यक्ष जोशीले उद्योग व्यवसाय संचालनको महत्वपूर्ण पूर्वाधार विद्युत शक्तिको दैनिक १६ घण्टा लोड सेडिङ्ग, श्रम विवाद, अशान्ति र असुरक्षा, अस्थिर नीति नियम, चन्दा आतंक, प्रतिकूल औद्योगिक व्यवसायिक एवं राजस्व नीतिले उद्योग व्यवसाय फष्टाउन सम्भव नभएकोले महासंघको सुझाव अनुरुप तत्कालै औद्योगिक व्यवसायिक मैत्री नीति र वातावरण तयार गर्न सरकारसंग आग्रह गर्नु हुंदै उद्योग व्यवसायले गति लिन नसकेमा राष्ट्रनै गम्भीर संकटमा पर्ने धारणा व्यक्त गर्नु भयो ।
देश प्राकृतिक श्रोत र साधनले युक्त छ तर उद्योग धन्दा विकास विस्तारको समूचित व्यवस्था नहुंदा देश झनै गरिव राष्ट्रका रुपमा रुपान्तरण हुदै गएको बताउनु हुदैं सरकारले रुपैया“ वितरण गर्नु भन्दा प्रविधि वितरण गरेमा गरिवी न्यूनिकरण हुने भन्दै "माछा दिनु भन्दा माछा मार्ने प्रविधि बल्छी वितरण गर्नुपर्ने" धारणा पनि उहांले व्यक्त गर्नु भयो ।
तेह्रथुम उद्योग वाणिज्य संघले १४ लाख ७१ हजार रुपैया“को लागतमा निर्माण गरेको सो भवनको उद्घाटन समारोहमा संखुवासभा, धनकुटा र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्षहरु क्रमशः श्याम सुन्दर उदास, लालचन्द गोङ्वा र अशोक ताम्राकारले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो समारोह तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष शभा पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।