>नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपाल र फिनलैण्ड सरकार वीच लगानी प्रर््रवर्द्धन एवं संरक्षण सम्झौता हुनु अत्यन्त सकारात्मक भएको र यसले फिनलैण्डका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताउनु भएको छ ।
महासंघका अध्यक्ष एवं अन्य पदाधिकारीहरु र फिनलैण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री डा. पाभो भेरिनेन (Dr. Paavo Vayrynen) का साथ फिनलैण्डको वैदेशिक मामला मन्त्रालय अन्तरगत बाह्य आर्थिक सम्बन्ध विभाग (Department for External Economic Relations) का राजदूत, उप महानिर्देशक (Ambassador, Deputy Director General) पेक्का साइला (Pekka Saila) को नेतृत्वमा नेपाल भ्रमणमा आएको फिनलैण्डको निजी क्षेत्रको प्रतिनिधिमण्डल वीच हिजो महासंघको सचिवालयमा भएको भेटघाट वैठकमा अध्यक्ष जोशीले उक्त कुरा बताउनु भएको छ ।
अध्यक्ष जोशीले प्रविधिको हिसावले फिनलैण्ड धेरै विकसित भएको हुंदा त्यसबाट नेपालले बहुपक्षीय लाभ लिन सक्ने उल्लेख गर्नु हुदै बन जंगल लगायत वन पैदावर तथा वनजन्य उद्योग, ठूला जल विद्युत आयोजना, साना तथा मझौला उद्यम, प्राविधिक एवं व्यवसायिक शिक्षा जस्ता क्षेत्रमा फिनलैण्डको प्रविधि एवं लगानी महत्वपूर्ण हुने र नेपालमा लगानीको वातावरण अनुकूल बन्दै गएको धारणा व्यक्त गर्नु हुदै नेपालमा लगानीका लागि पहल गर्न उक्त प्रतिनिधिमण्डललाई आग्रह गर्नु भयो ।
महासंघका उपाध्यक्षद्वय कृष्ण प्रसाद ताम्राकार, प्रदीपजंग पाण्डे, कार्यकारिणी समिति सदस्यहरु र महानिर्देशक तथा नेपाल स्थित फिनलैण्ड राजदूताबासका विकास सम्बन्धी काउन्सेलर करि लेप्पनेन (Kari Leppanen) समेतको उपस्थिति रहेको उक्त वैठकमा सो प्रतिनिधिमण्डलले नेपालमा लगानीका क्षेत्र र वातावरण सम्बन्धमा जिज्ञासा राख्नुका साथै अनुकूल वातावरण भएमा नेपालका संभाव्य क्षेत्रमा लगानी गर्न फिनलैण्डका लगानीकर्ताहरु इच्छुक रहेको बताएको छ ।