नेपाल भ्रमणमा रहनु भएका दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री रिचार्ड बाउचर (US Assistant Secretary of State for South and Central Asian AffairsRichard A. Boucher) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा उद्योग, व्यापार, पर्यटन, जलश्रोत एवं तयारी पोशाक, हस्तकला, गलैंचा, पश्मिना लगायतका निर्यात क्षेत्रसंग सम्बन्धित निजी क्षेत्रका औद्योगिक व्यवसायिक संघ/संस्थाका अध्यक्ष एवं पदाधिकारीहरु बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भयो ।
अर्थ मन्त्री डा. बाबुराम भट्टर्राई समेतको उक्त भेटघाटमा नेपालको विकास निर्माण तथा निजी क्षेत्रको विकासमा हालसम्म उपलव्ध अमेरिकी सहयोगको सराहना गर्दै व्यापार, उद्यमशीलता तथा कृषि विकास, पर्यटन पूर्वाधार एवं जलविद्युत लगायतको पूर्वाधार विकास, तयारी पोशाक, गलैंचा, हस्तकला, पश्मिना जस्ता प्रमुख निर्यात बस्तुहरुको बजार प्रबर्द्धनको क्षेत्रमा सहयोगका लागि पहल गर्न अमेरिकी सहायक विदेशमन्त्री बाउचरसंग नेपाली निजी क्षेत्रले आग्रह गरेको छ ।
महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष सुरज बैद्य, उपाध्यक्षद्वय भाष्करारज राजकणिर्कार तथा प्रदीपजंग पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकार, होटल संघ (नेपाल) का अध्यक्ष प्रशिद्ध बहादुर पाण्डे, केन्द्रीय गलैंचा उद्योग संघका अध्यक्ष लंकमान रोका, नेपाल तयारी पोशाक संघका अध्यक्ष प्रशान्त कुमार पोखरेल र नेपाल हस्तकला महासंघका अध्यक्ष पुष्करमान शाक्य समेतको सहभागिता रहेको उक्त बैठकमा नेपालको कूल गार्हस्थ उत्पादन (GDP) मा तयारी पोशाक निर्यातको अंश ७ प्रतिशत पुगेकोमा अमेरिकाद्वारा कोटा हटाउंदा उक्त योगदानका साथै ८० हजार भन्दा बढीको रोजगारी कटौति हुन गएको हुंदा अमेरिकी सरकारले सो नीतिमा पुनरावलोकन गरी नेपाली तयारी पोशाक, गलैंचा, पश्मिना जस्ता बस्तुका लागि अमेरिकी बजारमा करमुक्त प्रवेशको व्यवस्था गर्नु पर्नेमा जोड दिईयो ।
यसैगरी उक्त अवसरमा अमेरिकी सहायक विदेशमन्त्री बाउचरलाई नेपाली उत्पादन पश्मिना लगायत हस्तकलाका वस्तुहरुको ट्रेड मार्क दर्ताका लागि नेपाली निजी क्षेत्रका तर्फबाट पहल भई रहेको अवगत गराउंदै उक्त वस्तुहरुको बजार प्रबर्द्धनका लागि समेत अमेरिकी सहयोगको आग्रह गरियो ।
उक्त अवसरमा अमेरिकी सहायक विदेश मन्त्री बाउचरले नेपाली निजी क्षेत्रको सुझावलाई आफूले सकारात्मक रुपमा लिएको उल्लेख गर्नु हुंदै सामान्य ग्राह्यता प्रणाली (GSP) अर्न्तर्गतको सुविधा उपयोग गर्न समेत नेपाली उद्योगी व्यवसायीलाई आग्रह गर्नु भयो ।
साथै उहांले नेपाल नया“ संविधान निर्माण तथा आर्थिक परिवर्तनको संघारमा रहेको उल्लेख गर्नु हुंदै नेपालमा सरकारी क्षेत्रका साथै निजी क्षेत्रको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने आश्वासन दिनु भयो ।