सरकारले बजेटमा घोषणा गरे अनुसार युवा तथा साना व्यवसायीको स्वरोजगारका लागि अभिमुखीकरण तालीम कार्यक्रमको नेपाल उद्योग वाणिज्य महासंघ र महासंघका सवै जिल्ला स्थित जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरुमा आवेदन फाराम बुझाउन सकिने व्यवस्था गरेको छ ।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले महासंघ र अर्थ मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष तथा उद्योग वाणिज्य संघ बुटवलको संयुक्त आयोजनामा हिजो बुटवलमा आयोजित पहिलो क्षेत्रीय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्नु हुदै गाउं गाउंमा श्रृजनशिलताको विकास गर्न, उद्यमशीलता बढाउन र बढ्दो वैदेशिक आकर्षा घटाउन महासंघले सरकारसंग स्वरोजगार कार्यक्रममा सहकार्य गर्न लागेको बताउनु भयो ।
बुटवल तथा आसपासका क्षेत्रमा आर्थिक विकासको प्रयाप्त संभावना रहेको उल्लेख गर्दै उहांले दीगो आर्थिक विकासका लागि कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
शीप भएका र शीप नभएका दुवै खालका युवाहरुले आवेदन फाराम फागुन महिनाभित्र भर्न सक्ने र आवेदन भरेकाहरुलाई चैत्र महिनामा थप तालीम दिने जानकारी दिनु भयो ।
अर्थ मन्त्रालयका सह-सचिव रण बहादुर श्रेष्ठले यस वर्ष२५ हजार युवालाई ऋण प्रवाह गरी करिव १ लाखलाई स्वरोजगार बनाउने लक्ष्य सरकारको रहेको बताउनु भयो ।
उहांले ऋण लिने युवालाई जीवन वीमा र सम्पत्तिको समेत विमाको व्यवस्था गरिने तर निर्धारित समयमा ऋण नतिर्नेलाई सरकारी बा“की सरह मानी कुनै सुविधा नदिने स्पष्ट पार्नु भयो ।
महासंघको कार्यकारिणी समिति सदस्य कृष्णप्रसाद शर्माले कार्यक्रममा ग्रामीण क्षेत्रका गरिव असहायलाई विशेष प्राथमिकता दिनुपर्ने र स्थानीय कृषिजन्य वस्तुमा आधारित स्वरोजगारीलाई जोड दिनुपर्ने बताउनु भयो । उद्योग वाणिज्य संघ बुटवलका कार्यवाहक अध्यक्ष रोहितराज क्षेत्रीले सरकारले बजेट भाषणमा भनेजस्तै सरल र सहज रुपमा युवाहरुले ऋण पाउनु पर्ने र अनावश्यक झमेला हुन नहुने बताउनु भयो ।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष वैजनाथ जयसवाल, स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्साल, सिर्द्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, गोर्खा उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी, तौलिहवा उद्योग वाणिज्य संघका ओमकार कसौधन, गुल्मी उवासंघका उपाध्यक्ष अखिलेश्वर पाण्डे र उद्योग वाणिज्य संघ बुटवलका सचिव राजेन्द्र ध्वजू लगायतले वित्तिय संस्थाबाट नभई सरकारबाटै ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिंदै कार्यक्रमलाई बढी भन्दा बढी प्रभावकारी वनाउनु पर्ने सुझाव दिनुभयो ।