प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" संग सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerc & Industry) को १३ औं साधारण सभा तथा ४५ औं कार्यकारिणी समितिको वैठकमा भाग लिन नेपाल आएको दक्षिण एशियाली मुलुकको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री कार्यालयमा भेट गरी संघको सो सभा एवं बैठक सम्बन्धमा विस्तृत जानकारी गरायो।
भेटका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले सो संघको हालसम्मको गतिविधि बारे प्रधानमन्त्रीलाई अवगत गराउंदै व्यापार लगानी तथा पर्यटन प्रवर्द्धन, जलश्रोतको विकास जस्ता क्षेत्रमा संघले जोड दिंदै आएको उल्लेख गर्नु भयो ।
सार्क उद्योग वाणिज्य संघका अध्यक्ष तारिक सैयद (Tariq Sayeed) ले यस क्षेत्रको औद्योगिक व्यवसायिक विकासका लागि संघले खेलेको भूमिका एवं वैठकको निर्णय बारे अवगत गराउनु हुदै विश्वले नेपाल लगायत सार्क क्षेत्रलाई आर्थिक उन्नति र लगानीको लागि महत्वपूर्ण क्षेत्रका रुपमा हेरिरहेकाले लगानी मैत्री (Investment Friendly) क्षेत्रका रुपमा विकास गर्न सरकारी तथा निजी क्षेत्र गम्भिर रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज वैद्यले सो संघको संस्थापक मध्येको सदस्यको हिसावले पनि संघलाई अघि बढाउन महासंघले खेल्दै आएको भूमिकाका साथै संघले आर्थिक विकासका लागि अन्तर क्षेत्रीय सहयोग, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिक विकास, शान्ति, प्रगति र समृद्धि जस्ता कार्यका साथै दक्षिण एशियाली सौविध्य व्यापार (SAPTA) र दक्षिण एशियाली स्वतन्त्र व्यापार व्यवस्था (SAFTA) को कार्यान्वयनमा महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री दाहाललाई जानकारी गराउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनसंगै नेपालले दीगो तथा स्थायी शान्ति स्थापनाका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण सिर्जना गर्दै आर्थिक क्रान्तिलाई अघि बढाउन लागेको हुंदा नेपालका संभावित क्षेत्रमा लगानीका लागि पहल गर्न उक्त प्रतिनिधिमण्डललाई आव्हान गर्नु भयो ।
यसै वीच प्रतिनिधिमण्डलको सम्मानमा हिजो काठमाडौंमा आयोजित समारोहलाई संबोधन गर्नु हुदै महासंघका बरिष्ठ उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष वैद्यले दक्षिण एशियाली मुलुकहरु आपसी विश्वासका साथ एकजूट भई यस क्षेत्रको उद्योग व्यापार लगायतको आर्थिक विकासमा दृढतापूर्वक लाग्नु पर्नेमा जोड दिनु भयो । साथै उहांले राजनीतिक परिवर्तनसंगै आर्थिक विकासलाई पनि तीव्र रुपमा अघि बढाउन निजी क्षेत्रले एक आपसमा मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
संघका अध्यक्ष तारिक सैयद (Tariq Sayeed) ले एशियाका चीन, जापान, दक्षिण कोरिया, थाइलैण्ड लगायतका कतिपय मुलुकले ठूलो मात्रामा वैदेशिक लगानी आकषिर्त गर्नुका साथै तीब्र रुपमा मुलुकको आर्थिक विकासलाई अघि बढाएता पनि दक्षिण एशियाली क्षेत्रको विकासक्रम निकै कम र सुस्त रहेको हुंदा यसमा तीव्रता ल्याउन लगानीको अनुकूल वातावरण र सुरक्षाको प्रत्याभूति सहित लगानी, आकषिर्त गर्नु, अन्तर क्षेत्रीय व्यापार विस्तारमा सरलता ल्याउनु पर्ने, एक अर्को मुलुकमा लगानी प्रोत्साहित एवं पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
यसैगरी उहांले यस क्षेत्रको विकासका लागि सरकारी र निजी क्षेत्र वीच आपसी सहयोग विस्तार सहित इमान्दार एवं प्रतिद्धता साथ कार्य गर्नुपर्ने धारणा समेत व्यक्त गर्नु भयो ।