नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा आज महासंघ सचिवालयमा बसेको उद्योग ब्यवसायको वर्तमान संकट सम्वन्धी बैठकले "उद्योग ब्यवसाय संकटग्रस्त" भएको घोषणा गरेको छ ।
बैठकले १६ घण्टा भन्दा लामो बिद्युत लोडसेडिङ्गका कारण उद्योग ब्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेकाले उद्योग ब्यवसायले अत्यधिक लोडसेडिङ्ग शुरुवात भएको दिन देखि सो कायम रहेसम्मको विद्युत डिमाण्ड चार्ज नेपाल बिद्युत प्राधिकरणलाई तिर्न सक्षम नभएकाले उक्त चार्ज नतिर्ने निर्णय समेत गरेको छ ।
अकल्पनीय बिद्युत लोडसेडिङ्गका साथै निरन्तरको बन्द, हडताल र चक्काजाम, शान्ति सुरक्षाको अभाव, श्रम समस्या, आर्थिक मन्दी लगायतका समस्याहरुले आक्रान्त भई उद्योग ब्यवसाय हाल चल्नै नसक्ने अवस्थामा पुगेपछि निजी क्षेत्र उद्योग ब्यवसाय संकटग्रस्त भएको घोषणा गर्न बाध्य भएको हो ।
बैठकले उद्योग ब्यवसाय संकटग्रस्त भएको घोषणा गर्दै नेपाल उद्योग बाणिज्य महासंघ सहित महासंघका सवै सदस्य संघहरुमा "उद्योग ब्यवसाय संकटग्रस्त छ - सरकार संवोधन गर १" अंकित कालो ब्यानर राख्न आफ्नो सबै सदस्यहरुलाई अनुरोध गर्दै तत्काल समस्या समाधानका लागि नेपाल सरकार समक्ष आफ्ना मागहरु पेश गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकमा महासंघका पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, नेपाल चेम्वर अफ कमर्श लगायत बिभिन्न जिल्ला/नगर उद्योग बाणिज्य संघ र वस्तुगत संघका अध्यक्षहरु तथा एसोशिएट सदस्य एवं नेपाल उद्योग परिसंघका पदाधिकारी समेतको सहभागिता रहेको थियो ।
स्मरणीय छ,, उद्योग संगठन मोरङको अगुवाईमा उद्योग व्यवसायको समस्या समाधानका लागि त्यस क्षेत्रमा विगत १८ दिन देखि चरणबद्ध आन्दोलन संचालन गर्दै आएको छ ।