प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" बाट हुन लागेको नर्वे र फिनलैण्डको एक साताव्यापी भ्रमण साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा निजी क्षेत्रको पांच सदस्यीय प्रतिनिधिमण्डल समेत आजै त्यस तर्फप्रस्थान गर्यो ।
निजी क्षेत्रको उक्त प्रतिनिधिमण्डलमा महासंघको जलविद्युत विकास फोरमका संयोजक ज्ञानेन्द्रलाल प्रधान एवं महासंघका एशोसिएट् सदस्यहरु हिमालयन वैंक लिमिटेड र ग्लोबल वैंक लिमिटेडका अध्यक्षहरु क्रमशः मनोज बहादुर श्रेष्ठ र चन्द्र प्रसाद ढकाल हुनुहुन्छ ।
साथै गैर आवासीय नेपाली संघ (NRNA) का अध्यक्ष उपेन्द्र महतो पनि उक्त प्रतिनिधिमण्डल साथ रहनु भएको छ ।
निजी क्षेत्रको उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक बनाउन सहयोग गर्नुका साथै जलविद्युत, उर्जा एवं अन्य संभाव्य क्षेत्रमा नर्वे र फिनलैण्डको लगानीका साथै ती देशबाट पर्यटन एवं उपयुक्त प्रविधि नेपालमा आकषिर्त गर्न पहल गर्नुका अतिरिक्त व्यापार विस्तार एवं आपसी सहयोगका क्षेत्रहरु सम्बन्धमा ती मुलुकका औद्योगिक व्यवसायिक संघ/संस्थासंग विस्तृत छलफल गर्नेछ ।
द्विपक्षीय व्यापार लगानी तथा आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले उक्त भ्रमणका क्रममा महासंघ (FNCCI) र द सेन्ट्रल चेम्बर अफ कमर्श अफ फिनलैण्ड (The Central Chamber of Commerce of Finland) लगायतका समकक्षी संस्था वीच सहयोग सम्झौता समेत हुने कार्यक्रम छ ।
यस अघि महासंघ र फिनलैण्डको उक्त संस्था वीच सन् १९९३ मा समझदारीपत्रमा हस्ताक्षर भई आपसी सहयोग र सम्पर्क विस्तार एवं औद्योगिक व्यापारिक सूचना एवं जानकारीको आदान प्रदान हुदै आएको छ ।