रत्ननगर उद्योग वाणिज्य संघको दशौं वाषिर्क साधारण सभा गत सोमवार चितवनको रत्ननगरमा सम्पन्न भयो ।
सो सभाको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले एक समारोहका बीच उद्घाटन गर्नु भएको थियो । समारोहलाई सम्बोधन गर्नु हुंदै प्रमुख अतिथि ताम्राकारले सरकारले ल्याएको राजश्व नीतिले व्यवसायीलाई निरास बनाएको बताउनु भयो । "अहिलेको सरकारको काम भनेको जनमुखि संविधान बनाउने हो, अपारदर्शी कर प्रणाली लाद्ने होइन" भन्नु हुंदै सरकारले मध्यम तथा निम्नस्तरीय व्यवसायिक कारोवारमा लगाउंदै आएको मूल्य अभिबृद्धि कर (भ्याट) नेपालका व्यवसायीले थेग्न नसक्ने बताउनु भयो ।
साथै उहांले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरी आयातित बस्तुहरुबाट मात्र कर संकलन गर्न केन्द्रित हुन नहुने उल्लेख गर्नु हुंदै सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेर राजश्व संकलन गर्न सके मात्र देशको अर्थतन्त्रको सवालमा सरकार सफल हुने धारणा राख्नु भयो ।
महासंघको कार्यकारिणी समितिका सदस्य तथा क्षेत्रीय (नारायणी अञ्चल) प्रतिनिधि गोपाल कर्माचार्यले सरकारले कालो बजारी नियन्त्रणका नाममा व्यापारीको गोदाममा मनोमानी ढंगले छापा मार्ने कार्यले असल व्यापारीको प्रतिष्ठानमा ठेस पुग्ने बताउनु भयो ।
समारोहको सभापतित्व रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले गर्नु भएको थियो भने संघको गतिविधि, स्थानीय समस्याहरु तथा भावी कार्यक्रमहरु सहित अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै विश्व आर्थिक मन्दीको संकेत समेत हाम्रो अर्थतन्त्रमा परेको परिस्थितिमा देशको प्रमुख रोजगारदाता क्षेत्र उद्योग व्यवसाय क्षेत्रको आत्मबल कायम राख्नु राज्यको पहिलो दायित्व हुन आउंछ भन्नु हुंदै पूंजीवादी मुलुकहरुले समेत यस्तो बिषम परिस्थितिमा निजी क्षेत्रको संरक्षणको लागि खरबौं डलर सहयोगको घोषणा गरी सकेको हुंदा हाम्रो सरकारले पनि यस्तो मन्दीबाट पर्न सक्ने असरहरुको अध्ययन र निराकरण तर्फ लाग्नु पर्ने उल्लेख गर्नु हुंदै आयातित बस्तुहरुबाट सरकारले संकलन गरेको राजश्वले राष्ट्रिय अर्थतन्त्र मजबूत हुन नसक्ने बताउनु भयो ।
त्यसैगरी उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष मित्रराज दवाडीले बढ्दो लोडसेडिङ्ग र अशान्तिका कारण व्यवसायीहरु आक्रान्त भई रहेको अवस्थामा उनीहरुको ढाड सेक्ने गरी सरकारले ल्याएको राजश्व नीति अव्यवहारिक रहेको बताउनु भयो ।
समारोहमा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिशरण पाठक, प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डे, स्थानीय विकास अधिकारी कुमार बहादुर खड्का, एकिकृत नेकपा (माओवादी) क्षेत्रीय इन्चार्ज विवेक, नेपाली कांग्रेस जिल्ला उपसभापति रघुनाथ अधिकारी, नेकपा एमालेका उपसचिब कृष्ण खनाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।