नेपालको रोजगारदाता संगठनको हैसियतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले १२० औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा सम्पूर्ण श्रमिक कामदार साथीहरुमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
रोजगारदाता र कामदारहरु एउटै रथका दुई पाङग्रा हुन र यी दुई वीचको सुमधुर सम्बन्ध, आपसी विश्वास एवं सहयोगात्मक सम्बन्धबाट मात्र उद्योग व्यवसायको प्रवर्द्धन भई सामाजिक एवं आर्थिक रुपान्तरण संभव हुने कुरा अध्यक्ष जोशीले सम्बन्धित सवैमा आग्रह गर्नु भएको छ ।
अध्यक्ष जोशीले मुलुक अझै पनि संक्रमण अवस्थामा रहेको र हाम्रा सामु रोजगारी तथा लगानी प्रवर्द्धन, उत्पादकत्व वृद्धि, कार्य अवस्थामा सुधार जस्ता थुप्रै चुनौतीहरु भएको हुंदा यी चुनौती र समस्याको समाधान दीगो औद्योगिक शान्तिबाट मात्र संभव हुनेमा जोड दिनु हुंदै सम्बाद, सहकार्य र औद्योगिक शान्तिलाई साझा एजेण्डाको रुपमा लिई काम गर्न सकेमा मात्र सामाजिक एवं आर्थिक विकासको लक्ष्यमा पुग्न सकिने मान्यता अनुरुप नेपाल उद्योग वाणिज्य महासंघले रोजगारदाता एवं कामदार पक्ष बीच आपसी सम्बन्ध सुधार र सहकार्यलाई उच्च महत्व दिएको उल्लेख गर्नु भएको छ ।
आफ्नो सन्देशको अन्तमा अध्यक्ष जोशीले विद्यमान श्रम सम्बन्धको समीक्षा गर्दै आगामी दिनहरुमा असल श्रम सम्बन्ध र आपसी सद्भावको प्रवर्द्धनमा जोड दिई थप सहकार्य गर्दै जाने प्रतिवद्धता सहित सम्पूर्ण कामदार साथीहरुको सम्वृद्धि र मे दिवसको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।