अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा स्वीजरलैण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ९८ औं महाधिवेशनमा नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति प्रदीपजंग पाण्डेले भाग लिदै हुनु हुन्छ । त्यसका लागि श्री पाण्डे आज त्यस तर्फ प्रस्थान गर्नु भयो ।
उपाध्यक्ष पाण्डेले उक्त महाधिवेशनलाई नेपाली रोजगारदाता प्रतिनिधिको हैसियतले सम्बोधन गर्नुका साथै औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासका विविध पक्षमा सम्मेलनका सहभागी विश्वका विभिन्न मुलुकका प्रतिनिधिहरुसंग विस्तृत विचार विमर्श गर्नु हुने छ ।
साथै उहांले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र अन्तर्राष्ट्रिय रोजगारदाता संगठन (IOE) का पदाधिकारीहरुसंग समेत भेटघाट एवं छलफल गर्नु हुनेछ ।
नेपालको तर्फबाट श्रम सचिवको नेतृत्वमा रोजगारदाता र ट्रेड यूनियनका प्रतिनिधिहरु सम्मिलित प्रतिनिधिमण्डलले उक्त सम्मेलनमा भाग लिदै छ ।
यही जून ३ देखि आयोजित उक्त महाधिवेशन जून १९ सम्म चल्ने छ ।
स्मरणीय छ, नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख उद्देश्य मध्ये उद्योग तथा वाणिज्य क्षेत्रका रोजगारदाताहरुको हक, हितको संरक्षणका लागि रोजगारदाता संगठनको रुपमा काम गर्नु र अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी काम गर्नु समेत महासंघ अन्तरगत गठित रोजगारदाता परिषद्को प्रमुख कार्य रहेको छ ।