कार्यक्रम
टर्की सरकारको प्रधानमन्त्रीको कार्यालय तथा टर्की उद्योग वाणिज्य महासंघ (Turkish Confederation of Businessmen and Industrialists (TUSKON) द्वारा टर्कीको इस्तानबुल (Turkey, Istanbul) मा गत जेठ १८ देखि २४ (June 1-7, 2009) सम्म आयोजित Turkey-World Trade Bridge 2009 विषयक अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । उक्त सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डलले भाग लिएको थियो ।
सो प्रतिनिधिमण्डलको उक्त सम्मेलनमा सहभागिता एवं टर्की भ्रमण निकै उपलब्धिमूलक भएको महसूस गरिएको छ ।
मुख्य उद्देश्य
उक्त सम्मेलनको मुख्य उद्देश्य विश्व आर्थिक मन्दिबाट विश्व अर्थतन्त्रमा पर्न गएको गम्भिर असरका सम्बन्धमा वृहत छलफल गरी नयाँ व्यवसायिक अवसरहरुको समीक्षा गरी विश्व व्यापार वृद्धि गर्नु रहेको थियो ।
सहभागिता
टर्कीका प्रधानमन्त्रीले समुद्घाटन गर्नुभएको सो सम्मेलनमा उत्तर तथा दक्षिण अमेरिकी राष्ट्र, यूरोप, अफ्रिका, यूरोशिया, मध्यपूर्व तथा नेपाल लगायत एशिया प्रशान्त क्षेत्र गरी १३५ राष्ट्रका सरकारी उच्च पदस्थ अधिकारी, उद्योग वाणिज्य संघ/महासंघका अध्यक्षहरु, पत्रकार गरि २००० भन्दा बढी विशिष्ट व्यक्तिहरुको सहभागितामा भएको वृहद छलफलबाट सम्मेलनको उद्देश्यलाई साकार रुप दिन महत्वपूर्ण अवसर सावित भएको छ ।
सोही क्रममा इस्तानवुलमा पहिलो व्यापार मन्त्रीस्तरिय सम्मेलन (First Istanbul Trade Ministers Summit) पनि आयोजना गरिएको थियो । सो सम्मेलनमा टर्की सहित विश्वका ३३ राष्ट्रबाट उपप्रधानमन्त्री, व्यापार मन्त्रीहरु, राजदुतहरु, विभिन्न देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका पदाधिकारीहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरु गरि करिव ५ हजार भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो । उक्त सम्मेलनको आयोजनाबाट टर्कीले करिव ७ सय विलियन अमेरिकी डलर वरावरको Match Making प्रतिवद्धता प्राप्त गरेको छ । नेपालबाट महासंघका अध्यक्ष जोशीको नेतृत्वमा औद्योगिक व्यवसायिक प्रतिनिधिमण्डलले सो सम्मेलनमा भाग लिएको थियो ।
प्रमुख उपलब्धिः
Turkey World Trade Bridge 2009 तथा First Istanbul Trade Ministers Summit विश्व सम्मेलनमा नेपाली निजी क्षेत्रको सक्रिय सहभागिताबाट नेपाललाई विश्वमा चिनाउन ठूलो सहयोग मिलेको छ । खासगरि नेपालको पर्यटन, नेपालको विद्यमान वस्तुस्थिति र नेपालले विदेशी लगानी आकर्षाका लागि गरेका प्रयास, विद्यमान लगानी सम्बन्धी नीति तथा कानून एवं विद्यमान अन्तर्राष्ट्रिय वजार सम्भाव्यताका विषयमा नेपाली व्यवसायीक प्रतिनिधिमण्डले प्रचार तथा लविङमा ठूलो भूमिका खेलेको थियो । सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल तथा टर्की उद्योग वाणिज्य महासंघ (TUSKON) को प्रतिनिधिमण्डल बीच नेपालमा लगानीका विषयमा भएको छलफलमा नेपालमा शान्ति सुरक्षाको अवस्था मजवुत भएमा करिव ५ सय मिलियन अमेरिकी डलर वरावरको लगानी ल्याउन सकिने प्रतिवद्धता टर्कीबाट प्राप्त भएको छ । नेपालमा उत्पादित विजुलीको यसका छिमेकी देशहरु खासगरि भारतमा समेत राम्रो निर्यातको सम्भावना रहेकोहुंदा यस क्षेत्रमा लगानीका लागि नेपाली प्रतिनिधिमण्डलले प्रस्ताव राखेपछि नेपालमा जलविद्यतु, नागरिक उड्डयन आदि क्षेत्रमा टर्कीको लगानी आउन सक्ने सकारात्मक संकत प्राप्त भएको छ ।
सोही क्रममा टर्की उद्योग वाणिज्य महासंका अध्यक्ष स्वयंले उहांकै नेतृत्वमा उपयुक्त समयमा नेपालको भ्रमण गर्ने र सो भ्रमणका क्रममा द्विपक्षीय आर्थिक तथा लगानी विस्तारका सम्बन्धमा एउटा ठोस छलफल गरि अगाडी बढ्ने विश्वास समेत व्यक्त भएको छ भने दुवै महासंघ बीच जून १७, २००८ मा भएका स्मृतिपत्र (MOU) अनुसार अगाडी बढ्ने सम्बन्धमा प्रतिवद्धता व्यक्त भएको थियो ।
यूरोप तथा एशिया महादेशको बीचमा रहेका टर्की विकासको गतिमा निरन्तर अगाडी बढीरहेको छ । यहाँको उत्पादन तथा सेवाहरु उच्चगुणस्तरिय र कम लागतका भएकाले विशेष गरि यूरोपिय वजारमा निकै लोकप्रिय रहेका छन भने यूरोपको वजारमा टर्कीका उत्पादन तथा सेवाले ठूलो वजार ओगटन सफल भएको छ । टर्कीका सामाजिक सेवाका क्षेत्रहरु जस्तो शिक्षा, स्वास्थ्य क्षेत्रमा (TUSKON) मार्फत त्यहाँको व्यवसायिक क्षेत्रको ठूलो लगानी रहेको छ । खासगरि शिक्षा क्षेत्रमा टर्कीका व्यवसायिक क्षेत्रले ठूलो लगानी गरेको छ र उच्च शिक्षाका लागि कुनै पनि वाह्य देशमा त्यहाँका जनताहरु नजाउन भन्ने उद्देश्यले त्यति ठूलो सहभागिता शिक्षा क्षेत्रमा रहेको कुरा सो अवसरमा भएको भेटघाटमा व्यवसायिक नेताहरुले वताएका र नेपालमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा टर्कीको अनुभव आदान प्रदान एवं लगानीको प्रस्ताव गरिएकोमा सकारात्मक संकेत देखा परेको छ ।
नेपालमा लगानीका विषयलाई केन्द्र विन्दू राखेर गरिएको छलफल तथा बैठकमा खासगरी आर्थिक मन्दीबाट विश्वका सबै राष्ट्रहरु आक्रान्त भैरहेको सन्दर्भमा आयोजित सो सम्मेलन आर्थिक तथा व्यवसायिक सम्वन्ध विस्तार, राष्ट्र राष्ट्र बीचको लगानी आकर्षण, अनुभव आदान प्रदानमा समेत निकै महत्वपूर्ण हुने आशा गरिएको छ । राजनीतिक रुपमा भर्खर मात्र एउटा मार्गतर्फअगाडी बढी आर्थिक विकासका लागि प्रयासरत रहेको हाम्रो जस्तो मुलुकको लागि यो सम्मेलन कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
साथै नेपाली प्रतिनिधिमण्डलका तर्फबाट आर्थिक विकास निकै तीव्र गतिमा अगाडी वढिरहेका विशाल छिमेकी मुलुकहरु भारत तथा चीनको बीचमा रहेको नेपालमा उत्पादित वस्तुहरु ती देशहरुमा ठूलो वजार सम्भाव्यता रहेकोले नेपालमा लगानी गरि सहयोग गर्न विश्व समुदायलाई आग्रह समेत गरियो ।
सम्मेलनका क्रममा नेपाली व्यवसयिक प्रतिनिधिमण्डलले टर्कीका विभिन्न शहरहरुको भ्रमण गरि त्यहाँका उद्योग वाणिज्य संघ/महासंघका पदाधिकारीहरुसंग द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारका विषयमा वृहद छलफल गरेको थियो । सो क्रममा प्रतिनिधिमण्डलले टर्कीको इस्तानवुल, डेनिज, Affyun लगायतका प्रमुख शहरहरुको भ्रमण गरेको थियो । Affyun मा त्यहाँका उद्योग वाणिज्य संघसंग भएको भेटघाट तथा छलफलमा नेपालमा पर्यटन तथा मार्वल उद्योगमा आफना अनुभवहरु आदान प्रदान गर्न ठूलो इच्छा समेत देखाएको थियो ।
नेपालको सहभागिता
नेपाल-टर्की उद्योग वाणिज्य संघ (Nepal-Turkey Chamber of Commerce & Industry) को समन्वयमा टर्की गएको उक्त प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एवं नेपाल-टर्की उवासंघका अध्यक्ष अखिलकुमार चापागाई, महासंघको कार्यकारिणी समितिका सदस्य सकुन्तलाल हिराचन, पूर्व कार्यकारिणी समिति सदस्य उद्धव पौडेल, व्यवसायीहरु विजयसिंह वैद, गौतमकुमार श्रेष्ठ, पवनकुमार अग्रवाल, र आनन्दकुमार वैद हुनुहुन्थ्यो ।
नेपाल र टर्की बीचको सम्बन्ध
नेपाल र टर्की वीचको व्यापार, लगानी, पर्यटन प्रवर्द्धन लगायतको आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र टर्की उद्योग वाणिज्य महासंघ (TUSKON) वीच गत वर्ष जून १७, २००८ का दिन टर्कीका वाणिज्य मन्त्री कुसाद तुजमेन (Kursad Tuzmen) को उपस्थितिमा स्मृत पत्र (MoU) मा हस्तान्तरण भैसकेको छ भने यस बीचमा दुवै देशका औद्योगिक व्यवसायिक प्रतिनिधिमण्डलको भ्रमणको आदान प्रदान तथा कुटनीतिक तहबाट समेत द्विपक्षीय भ्रमण भएका छन ।