»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सम्माननीय प्रधानमन्त्री श्री माधव कुमार नेपालज्यू समक्ष प्रस्तुत ज्ञापन पत्र (२०६६/०३/१४)


२०६६/०३/१४

सम्माननीय प्रधानमन्त्री श्री माधव कुमार नेपालज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषयः- ज्ञापन पत्र ।

सम्माननीय महोदय,

ऐतिहासिक परिवर्तन पछि सम्पन्न संविधान सभाको निर्वाचन एवं सो सभाको गठन पश्चात मुलुक भित्र शान्ति सुव्यवस्था कायम भई राष्ट्र नयां नेपाल निर्माण तर्फअघि बढ्ने, अमन चैन र शान्ति सुरक्षाका साथै जननिर्वाचित सरकारको गठनसंगै कानूनी प्रशासनको दह्रो सरकार र दण्डहिनताका अन्त्य भई आम नेपाली नागरिकले शान्त, समृद्ध र सम्मुन्नत नेपाल बन्ने परिकल्पना गरेका थिए । तर यो सवैका बाबजुद राजनीतिक दलहरु वीचको खिचातानी, उदासिनता र अन्त्यहिन सत्ता लिप्साका कारण मुलुकमा निरन्तर बढ्दै गएका जघन्य हत्या हिंसा, अपहरण, लुटपाट, चोरी डकैटी जस्ता घटनाले मुलुकको शान्ति सुरक्षामा गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

करिब करिब असफल राष्ट्रको संघारमा पुगेको यस जटिल र सवेदनशील अवस्थाबाट देशलाई बचाउन हामी निजी क्षेत्र र पेशागत व्यवसायी एवं सामाजिक संघ संस्थामा क्रियाशील व्यक्तिहरुले "नागरिक पेशा व्यवसायी सञ्जाल" गठन गरी देशमा दण्डहीनताको अन्त्य सहित कानूनी शासन लागू गर्न सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष यो ज्ञापन पत्र पेश गरेका छौंं ।

आज मुलुकमा मौलाएको दण्डहीनता, अराजकता र अपराधका घटनाका अगाडि शान्ति सुरक्षा शुन्य प्रायः छ । स्वतन्त्र रुपले प्रत्येक व्यक्तिले बाँच्न पाउने, हिडडुल गर्न पाउने, उद्योगी व्यवसायीको उद्योग व्यवसाय गर्न पाउने, प्रत्येक बालबालिका र विद्यार्थीहरुले विद्यालय जान पाउने, शिक्षक तथा प्राध्यापकले पढाउन पाउने, चिकित्सक एवं स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गर्न पाउने, पेशा व्यवसायीले आफ्नो पेशा व्यवसाय गर्न पाउने जस्ता व्यक्तिका आधारभूत अधिकार पूर्णरुपमा समाप्त भएको छ । नेपालको अन्तरिम संविधान, २०६३ र प्रचलित नेपाल कानूनद्वारा प्रदत्त अधिकार र पेशा व्यवसाय गर्न पाउने अधिकार संविधान र कानूनमा मात्र सिमित भएको छ । अर्कोतर्फसंविधान, कानून र अन्तर्राष्ट्रिय स्तरमा स्थापित मूल्य-मान्यता विरुद्धका काम गर्दा गराउँदा कुनै सजायँ नहुने अवस्था सृजना भएको मात्र होइन त्यस्ता व्यक्ति र वर्ग अझ प्रोत्साहित भएका छन् । देशलाई यस्तो वर्तमान अवस्थाबाट बचाउन हामी सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष जोडदार माग राख्न चाहन्छौं । सम्माननीय प्रधानमन्त्रीज्यू र नेपाल सरकारको पहिलो प्राथमिकता दण्डहीनतालाई अन्त गरी कानूनी शासन स्थापन हुनुपर्दछ भन्ने कुरा यो नागरिक पेशा व्यवसायी सञ्जाल यस ज्ञापनपत्रद्वारा स्मरण गराउन पनि चाहन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

आज स्कुल जाँदै गरेका बालबालिका तथा विद्यार्थी अपहरण र फिरौतीका साधन बनेका छन्, अपहरणपछि हत्याका घटनाले अझ प्रोत्साहन पाएका छन्, महिला माथि बलात्कार भएका छन, उद्योगी व्यवसायी चन्दा तथा धम्कीबाट प्रभावित भएका छन्, चिकित्सक आफ्नो मानवीय सेवा प्रदान गर्नबाट बञ्चित भएका छन्, पेशा व्यवसायी आफ्नो पेशा व्यवसाय स्वतन्त्र रुपमा गर्न सक्ने अवस्था नभई विस्थापित भएका छन्, मूल्यबृद्धि र अभाबबाट आम नागरिक जीवन निर्वाह गर्न नसक्ने गरी पिल्सिएको छ ।

सरकारको सक्रिय एवं प्रभावकारी भूमिकाको कमि र राजनीतिक दलहरुको उदासिनताका साथै सुरक्षा निकायको प्रभावकारी उपस्थितिको अभाव थप चिन्ताको विषय बनेको छ । संसद तथा संविधानसभाको कार्य प्राथमिकताका क्रममा नभएको र प्रायः संसद बस्न नसकी 'नयाँ संविधान' लेखन कार्यमा भएको ढिलाइले 'शान्ति र सहमतिको प्रक्रिया' नै अवरुद्ध हुन सक्ने भएकोले मुलुक अझ बढी संकट र असफल बन्ने होकि भन्ने आशंका व्याप्त भएको छ । यो कटु यथार्थ हुँदा हुँदै र मुलुक दलदलमा भांसिदै जाँदा पनि सरकार एवं राजनीतिक दलहरुले यो तथ्यलाई बुझ्नै नचाहेको या बुझेर पनि पूर्ण बेवास्ता गरेको अनुभूति हामीलाई भएको छ । तर यो अनिश्चितता कहिलेसम्म - के सँधै आम नागरिकले यो कष्ट व्यहोर्नु पर्ने हो - यी यस्ता प्रश्न सबैका अघि तर्सिएर रहेका छन् । त्यस्ता मुद्दाहरुलाई निरुत्साहित गर्दै सरकार र सबै राजनीतिक दलहरुको यस विषयमा तत्काल ध्यान जाओस् भनी हामी जोडदार रुपमा निम्न माग सरकारसँग गर्दछौं ।

क) शान्ति, सुरक्षा तत्काल बहाली होस्,
ख) दण्डहिनताको तुरुन्त अन्त होस्,
ग) संविधान निर्माणको कार्यलाई प्राथमिकताकासाथ अघि बढाइयोस्,
घ) मूल्य बृद्धि एवं अभाव हुन नदिनुका साथै न्यूनतम् जीवन यापन गर्ने नागरिकको हक अधिकारको प्रत्याभूति गरियोस् ।
ङ) राजनीतिक समस्याहरुको पहिचान सहित राष्ट्रिय हितलाई दृष्टिगत गरी असहमत पक्षहरुसँग वार्ताद्वारा समस्या समाधान गरियोस्,
च) शान्तिपूर्ण आन्दोलनको अधिकार सुनिश्चित गर्दै जनस्वास्थ्य एवं वातावरणमा प्रतिकूल असर पर्ने गतिविधि बन्द गरियोस्,
छ) कानूनी शासनको प्रत्याभूति गरियोस् ।

अन्त्यमा, देशमा देखिएका समस्याहरुको समाधान गर्नेतर्फसरकार अगाडी बढेन भने राष्ट्र असफल हुने मात्र हैन अझ गंभीर खालको गृहयुद्ध र अराजकताको खाडलमा लामो समयसम्म फस्ने हुँदा तत्काल सरकारबाट गंभीर कदम उठाइयोस् भन्दै आधारभूत मानवअधिकार सहितको लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप कानूनी शासनको प्रत्याभूति प्रदान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट गरिने कार्यक्रममा यो नागरिक सञ्जाल सहयोग गर्न तयार रहेको कुरा हामी यसै ज्ञापनपत्रद्वारा प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

नागरिक पेशा व्यवसायी सञ्जालका तर्फबाटः

कुशकुमार जोशी, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
सुदिप पाठक, अध्यक्ष, नेपाल मानवअधिकार संगठन
केदारनरसिंह के.सी., अध्यक्ष, पेशा व्यवसायिहरुको संगठन (पापड) एवं नेपाल चिकित्सक संघ

Please download the .pdf file - click here

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.