नव नियुक्त उद्योग मन्त्री महेन्द्रराय यादवसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उहांको कार्य कक्षमा भेटगरि निजी क्षेत्रको सुझाव अनुसारको उद्योग नीति शीघ्र आउनु पर्नेमा जोड दिएको छ ।
सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले उद्योगमन्त्री समक्ष औद्योगिक सुरक्षा वल शीघ्र गठन हुनु पर्ने, आगामी नयाँ वजेटमा उद्योगको संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम आउनु पर्ने, औद्योगिक अशान्तिको अन्त्य, "हायर एण्ड फायर", श्रम लचकता सहित श्रम सम्बन्ध सुमधुर हुनु पर्ने लगायतका सुझावहरु राखेको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष जोशीले अशान्ति तथा असुरक्षाका कारण उद्योग व्यवसाय पलायन एवं बन्द हुने क्रम तीव्र भएकाले औद्योगिक शान्तिको प्रत्याभूति सहित उद्योग व्यवसाय गर्ने अनुकुल वातावरण निर्माणका लागि मन्त्री रायको ध्यानाकर्षण गराउनु भयो । लामो प्रतिक्षामा रहेको औद्योगिक नीति निजी क्षेत्रको सुझाव अनुसारको आउनु पर्नेमा जोड दिनु हुंदै अध्यक्ष जोशीले औद्योगिक विकासका लागि सरकारले अघि सार्ने कार्यक्रममा निजी क्षेत्रको पूर्ण सहयोग रहने विश्वास समेत दिलाउनु भयो ।
महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था भएमात्र उद्योग व्यवसाय अगाडी बढ्न सक्ने हुने हुंदा शान्ति सुरक्षाको प्रत्याभूति, सुमधुर औद्योगिक सम्बन्ध विकास र रुग्ण उद्योगको पुनरुत्थानका विषयहरुलाई आगामी बजेटमा सम्वोधन हुनुपर्ने सुझाव राख्नु भयो ।
महासंघको उद्योग समितिका सभापति अशोककुमार तोदी तथा सह-सभापति श्यामकुमार लोहिया समेतको सहभागिता रहेको उक्त भेटघाटमा उपाध्यक्ष पाण्डेले औद्योगिक प्रवर्द्धन वोर्डको बैठक नियमित बस्नु पर्ने तथा मन्त्रालय अन्तरगतका सबै विभागहरुलाई क्रियाशिल बनाउनु पर्नेमा पनि जोड दिनु भयो ।
सो अवसरमा मन्त्री यादवले प्रस्तुत सुझावहरुलाई सकारात्मक रुपमा लिई सरकारले ल्याउने उद्योगसंग सम्बन्धित नीति तथा कार्यक्रमहरुका विषयमा निजी क्षेत्रसंग समेत वसेर आगामी दिनमा विस्तृत छलफल गरि आफू र आफ्नो मन्त्रालय अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।