नयाँ राजनीतिक परिवर्तनसंगै विकासमा अगाडी बढीरहेको नेपालले आर्थिक विकासका लागि निजी क्षेत्र उन्मुख, चुस्त र प्रभावकारी प्रशासन मोडलमा जानु पर्ने सुझाव एकजना अमेरिकी प्राध्यापकले दिनु भएको छ ।
चुस्त र प्रभावकारी प्रशासन जस्तो एशियाका अन्य धेरै जसो मुलुकहरुले अंगिकार गरेका छन्, नेपालले पनि सोही मोडलमा आफूलाई लैजांदा प्रभावकारी हुन्छ,(संयुक्तराज्य अमेरिकास्थित George Mason University का प्राध्यापक Dr. Hilton Root ले भन्नुभयो - तर विकासका हरेक प्रयासमा निजी क्षेत्र अग्रिम भागमा र निजी क्षेत्र मैत्रीनै हुनैपर्छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र यूएसएआइडी नेपालद्वारा संयुक्त रुपमा आयोजित आर्थिक विकासका लागि सरकारी निजी क्षेत्र सहयोग (Government - Business Cooperation for Economic Development) विषयमा महासंघमा आज आयोजित छलफल कार्यक्रममा उहाँले भन्नु भयो - सरकारले व्यापार गर्ने, उद्योग चलाउने होइन वरु पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था, उपयुक्त नीति तथा कानूनको सुनिश्चितता सहित पूर्ण प्रजातान्त्रिक वातावरणमा शान्ति सुरक्षा सहितको प्रत्याभुति दिई निजी क्षेत्रलाई "इन्जिन अफ ग्रोथ"का रुपमा अगाडी बढाउने हो ।
यसका लागि उहा“ले पूर्वी एशियाका चीन, जापान, कोरिया जस्ता धेरै मुलुकहरुको उदाहरण समेत प्रस्तुत गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाएको सार्वजनिक-निजी साझेदारी (PPP) मोडलका विषयमा चर्चा गर्दै सार्वजनिक नीति विषयका ज्ञाता समेत रहेका अमेरिकी प्राध्यापक डा. हिल्टनले यसलाई देश सुहाउंदो अनुरुपको ढांचामा लैजानु पर्ने सुझाव दिनु भयो ।
उहांले गरिव जनतासम्म आधारभुत सेवाको वितरण, संलग्नता र प्रतिनिधित्व सुनिश्चित गराउन अन्तराष्ट्रिय स्तरमै स्थापित पीपीपी मोडलबाट लगानी अभिवृद्धि, अनावश्यक खर्च कटौती एवं लक्षित समूहसम्म यसको उपलव्धी पुग्न सक्ने हु“दा यसलाई नेपालले पूर्ण कार्यान्वयन गरेमा ठूलो लाभ उठाउन सक्ने पनि बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा आर्थिक विकासमा सरकार निजी क्षेत्रको सहयोग विषयमा नेपालको अनुभव राख्नुहुंदै महासंघका अध्यक्ष कुशकुमार जोशीले नेपालको आर्थिक विकासका हालसम्मको प्रयासमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको र आर्थिक विकासका लागि निजी क्षेत्रले सरकारसंग हातेमालो गरी अघि बढी रहेको चर्चा गर्नुभयो । अध्यक्ष जोशीले नेपाली निजी क्षेत्र केवल आफ्नो व्यवसायिक हितमा मात्र आवद्ध नभई वृहत्तर सामाजिक हितका लागि कार्य गरिरहेको समेत प्रष्ट पार्नु भयो ।
महासंघले सरकार, अन्तराष्ट्रिय दातृ संस्थाहरुसंग मिलेर आर्थिक-सामाजिक रुपान्तरणका लागि थुप्रै परियोजनाहरु संचालन गरेको र त्यसबाट रोजगारी सृजना, स्थानीय श्रोत साधनको उपयोग मार्फत स्थानीय जनताको जीवनस्तर सुधार लगायतमा ठूलो परिवर्तन आएको स्पष्ट पार्दै महासंघले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप सरकारसंग हातेमालो गरि अघि बढेको चर्चा गर्नुभयो । महासंघले कृषि उद्यम केन्द्र, इलम प्रशिक्षण कार्यक्रम, एक गाउँ एक उत्पादन कार्यक्रम, आयआर्जका लागि शिक्षा, यूवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम जस्ता थुप्रै महत्वपूर्ण कार्यक्रमहरु सरकार तथा दातृ निकायहरुसंग मिलेर गरिरहेको समेत प्रष्ट पार्नुभयो ।
त्यसअघि महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले स्वागत मन्तव्य दिनुहु“दै आर्थिक तथा व्यवसायिक विकास मार्फत आर्थिक सामाजिक रुपान्तरणका लागि नेपाली निजी क्षेत्र निरन्तर लागिरहेको र निरन्तर सफलता तर्फउन्मुख रहेको वताउनु भयो । निजी क्षेत्र सशक्त भएमात्र दीगो आर्थिक विकास तथा आर्थिक सामाजिक अवसरहरु सृजना हुने हुंदा महासंघले "निजी क्षेत्र मैत्री" वातावरण निर्माणका लागि सरकार, नागरिक समाज तथा राजनीतिक पार्टीसंग निरन्तर प्रयास तथा पैरवी गर्दै आएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा यूएसआइडी नेपाल र नेपाल उद्योग वाणिज्य महासंघद्वारा मध्यपश्चिम विकास क्षेत्रका १५ वटा जिल्लामा संचालित आय आर्जनका लागि शिक्षा (Education for Income Generation - EIG) का वारे विस्तृत जानकारी गराइएको थियो । महासंघका कार्यकारिणी समितिका सदस्यहरु, नेपाल सरकारका वरिष्ठ अधिकारी, यूएसएआईडी नेपालका पदाधिकारीहरुको समेत सहभागिता रहेको सो कार्यक्रममा यूएसएआइडी नेपालका अनिता महतले धन्यवाद मन्तव्य दिनु भएको थियो ।