औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक माथि गतसाता भएको आक्रमण र तत्पश्चात आक्रमणमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर प्रमुख औद्योगिक क्षेत्रमा संचालित उद्योगहरु एकसाता भन्दा बढी समयदेखि संचालन हुन नदिइएको घटना तथा यस्तै प्रकृतिका घटनाबाट मुलुकका विभिन्न स्थानमा संचालित उद्योगहरुमा केहि दिनदेखि उत्पन्न समस्याप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।
उद्योग व्यवसाय क्षेत्रमा उत्पन्न सबै प्रकारका समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्नुको साटो उद्योगहरु बन्द गरिएको घटनाप्रति महासंघ अत्यन्त चिन्तित भएको छ । सवै उद्योग व्यवसायहरु मर्माहत रहेको अवस्थामा वारम्वार उद्योग व्यवसाय बन्द गराउ“दा उत्पन्न हुने परिणाम कसैका लागि हितकर नहुने ठहर महासंघको छ । वारम्वारका बन्द, हड्ताल, चक्काजाम, लोडसेडिङ जस्ता समस्याबाट थिलोथिलो भएका उद्योगहरु माथि पुनः यो बन्दको घटना थप चिन्ताको विषय हो । बन्द नै आफना माग पुरा गराउने अचुक उपाय हो भन्ने भावना अनुरुप जानु भन्दा पनि शौहार्दपूर्ण वातावरणमा वार्ताका माध्यमबाट समस्या समाधानका लागि अगाडी बढ्नु सवैभन्दा उत्तम उपाय हो भन्ने धारणा महासंघको छ ।
उद्योग बन्द गर्ने सम्बन्धमा उत्पन्न वर्तमान समस्या उद्योग व्यवस्थापन पक्षबाट सृजना नभई वाह्य कारणबाट उत्पन्न भएको प्रष्ट छ । अन्यत्रबाट उत्पन्न यस्ता समस्याबाट उद्योग व्यवसाय बन्द हुंदाका वखतको आर्थिक नोक्सानीका कारण व्यवस्थापन पक्ष वन्द अवधिको भुक्तानी गर्नुपर्ने तलव ज्याला लगायतका सुविधा उद्योग प्रतिष्ठानहरुले उपलव्ध गराउन असक्षम हुने हुंदा वर्तमान समस्या तत्काल वार्ताको माध्यमबाट समाधान गरि उद्योग व्यवसाय सुचारु संचालन गर्ने वातावरण बनाउन महासंघ सम्बन्धित पक्ष लगायत नेपाल सरकारमा गम्भीर आग्रह समेत गर्दछ ।