नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी सहित महासंघको पदाधिकारी र नेपालका लागि नयाँ दिल्लीस्थित चिलीका राजदुत अलफोनसो सिल्भा नाभारो (Alfonso Silva Navarro, Ambassador of Chile) बीच हिजो महासंघ सचिवालयमा भएको भेटघाट एवं छलफल कार्यक्रममा आपसी आर्थिक सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भयो ।
महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, नेपालका लागि चिलीका अवैतनिक वाणिज्यदुत वसन्तराज मिश्र, महासंघको कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी फोरमका संयोजक उमेश लाल श्रेष्ठ र महानिर्देशक मेघनाथ न्यौपानेको सहभागिता रहेको सो अवसरमा द्विपक्षिय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन, व्यवसायिक प्रतिनिधिमण्डलको भ्रमण तथा व्यवसायिक सूचनाको आदान प्रदान एवं व्यापार मेलाको आयोजनामा जोड दिइएको थियो । दुई देश बीच अत्यन्त न्यून रहेको आयात निर्यात व्यापारलाई आगामी दिनमा वढोत्तरी गर्नुपर्ने, आयात निर्यातका सम्भाव्य वस्तुहरुको पहिचान गर्नु पर्ने तथा आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा दुवै देशका निजी क्षेत्रबाट सक्रिय पहल हुनु पर्नेमा जोड दिइएको थियो ।
सो अवसरमा राजदुत नाभारोको स्वागत गर्नुहुँदै महासंघका अध्यक्ष जोशीले नयाँ राजनीतिक परिवर्तनसंगै नेपालको आर्थिक विकासका लागि वाहय लगानी एवं प्रविधि आवश्यक भएको सन्दर्भमा नेपालमा तुलानात्मक लाभ भएका क्षेत्रहरु जलश्रोत, पर्यटन, व्यवसायिक कृषि र पूर्वाधार निर्माणमा चिलीको लगानी एवं प्रविधिका लागि आग्रह गर्नुभयो । अध्यक्ष जोशीले दुई देश बीचको आर्थिक सम्बन्ध विस्तारका लागि कुटनीतिक तवरवाट देखाइएको चासो प्रति खुशी प्रकट गर्नुहुंदै निरन्तर सहयोगको अपेक्षा समेत गर्नुभयो ।
राजदुत नाभारोले नेपाल र चिली बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारमा मुख्य चुनौतीको रुपमा देखिएका विषयहरुलाई सम्वोधन गरि अगाडी बढ्नु पर्नेमा जोड दिंदै आपसी सर्म्पर्क विस्तारका लागि नेपाली निजी क्षेत्रले गरेका हरेक प्रयासमा कुटनीतिक तवरबाट आफूले पूर्ण सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो । साथै उहाँले नेपालमा रहेको अपार जलश्रोत, प्राकृतिक सुन्दरता समेतलाई दृष्टिगत गरि जलविद्युत तथा पर्यटन क्षेत्रमा चिलीको संयुक्त लगानीको सम्भाव्यता औल्याउनु भयो ।